जनता टाइम्स

२० माघ २०७८, बिहीबार २१:०१

मर्यादा भुलेर अश्लिल हर्कत नगर्न बागमतिका मुख्यमन्त्री पाण्डेलाई दियो एमालेले कडा चेतावनी


काठमाडौं, २० माघ ।  । प्रमुख विपक्षी नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आम नागरिक, बुद्धिजिवी तथा सञ्चार जगतले तीव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयम्ले सरकारले खर्च नगरे कस्ले गर्छ त? भन्ने अत्यन्तै गैह्र जम्मेवार र पदीय मर्यादा विपरीत गैह्रकानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भूलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ ।’

नेकपा एमाले बागमती प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौलाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।लोकतन्त्रमा प्रतिपक्षविहीन संसदको परिकल्पना गर्नुपर्छ भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति दम्भको पराकाष्ठा रहेको निष्कर्ष निकाल्दै एमालेले आगामी दिनमा संसदीय मान्यता र पदको गरिमा राख्न ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्रीले सार्वजनिक सभा, समारोहमा मेरो पार्टीको कमिटि नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँड्नुभएको उल्लेख गर्दै प्रदेश सरकार र मुख्यमन्त्रीलाई सच्चिन एमालेले भनेको छ ।

जारी विज्ञप्तिमा बागमती प्रदेश सरकारले कानून विपरित राज्यको अहीत हुनेगरी र राज्य स्रोतको चरम दुरुपयोग गर्नेगरी गरेका काम कारवाहीहरुले नेकपा (एमाले) संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रदेश गौरवका आयोजनाहरु कटौती गर्ने तथा कानून, आर्थिक अनुशासन, चलनचल्ती एवम् न्युनतम् मूल्य र मान्यताहरुलाई कुल्चँदै रकमान्तर गर्ने, योजना कटौति गर्ने, महत्वपूर्ण परियोजनाहरुका कामहरु अवरुद्ध गर्ने जस्ता गैरजिम्मेवारीपूर्ण काम गरिरहेको पनि एमालेको आरोप छ ।