काठमाडौं, माघ २२ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । उहाँले प्रेसले राजनीतिक दललाई जिम्मेवार बनाउने काम गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभयो । पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्ने भूमिकामा सक्रिय हुनुपर्ने सुझाव दिनुहुँदै नेता पोखरेलले देशको आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले दवावमुलक अभियान चलाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।
मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको मितिबारे निर्णय गर्न सरकारलाई दवाव दिइरहेकाबेला सरकारले अझै निर्वाचनको मिति घोषणा नगरेको उहाँले बताउनुभयो ।
सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो ।मुलुक आर्थिक समृद्धिको बाटोमा जानुपर्ने भएपनि सोअनुसारको काम हुन नसकेको चर्चा गर्नुहुँदै त्यसकालागि स्पष्ट योजना बनाएर सरकार अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो ।
‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ उहाँले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् । यसका साथै बरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै गर्नूपर्ने बताउनु भयो ।
पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिनुभयो । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ । ‘यो सरकार र गठबन्धन मुलुकको बिकास र समृद्धिको बिरुद्धमा छ, संबिधानअनुसार गर्नुपर्ने सवै काम नगर्ने सुनियोजित षडयन्त्रमा छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । प्रेस चौतारी नेपाललाई स्पष्ट विचार र योजनाअनुसार अघि बढाउन उहाँले निर्देश गर्नुभयो । संगठनमा भीड जम्मा गर्नुभन्दा पनि शक्तिमा रुपान्तरण गर्न उहाँले सुझाउनुभयो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पत्रकारले धेरैको समाचार लेख्ने भएपनि पत्रकार स्वयम् समस्यामा पर्दा बोलिदिने कोही नहुँदा समस्या हुनेगरेको बताउनुभयो । प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारको नेतृत्वकर्ता संगठन भएकाले यसको काम चुस्त र प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो ।
संगठनका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, फोनिजका अध्यक्ष डण्ड गुरुङ, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्