सुनसरी, माघ २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको भन्दै आन्दोलनको आँधी बेहरी सिर्जना गर्ने चेतावनी दिनुभएको छ । प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा धरानमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले यस्तो चेतावनी दिनुभएको हो ।
महासचिव पोखरेलले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत बताउनु भयो । निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेकोमा आक्रोश पोख्दै महासचिव पोखरेलले लोकतन्त्र विरोधी काम नगर्न सरकारलाई चेतावनी दिनुभयो ।
‘निर्वाचन आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हटाउने खेल भएको र त्यस्को पीडा मुलुकले अहिले भोग्नु परेको बताउनु भयो । ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस्तो किन भयो भन्दा मुलुकलाई गलत बाटोमा लैजानको खेल हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको प्रष्ट भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्