सुनसरी, माघ २२ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र धरानको दुई ओटा वडामा रित्तो बनेको छ । सो पार्टीका दुई ओटा वडा कमिटीका अध्यक्ष सवै पदाधिकारीसहित आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेले आज धरानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना नेता–कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गर्नुभयो ।
सोही कार्यक्रममा वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको छ । पूर्वमाओवादी नेतासमेत रहनुभएका एमाले प्रदेश कमिटी सदस्य पशुपति राई नुलामका अनुसार पुर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा माओवादी केन्द्रबाट मात्र ४६७ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । नेकपाको निरन्तरताको रुपमा एमालेमै रहेका पुर्वमाओवादीहरुको समेत संख्या जोड्दा ८ सय ४२ जना पुगेको एमाले प्रदेश कमिटी सदस्य मुरारी सुवेदीले जानकारी दिनुभयो । माओवादी नेताहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गर्नुभएको छ ।

माओवादी केन्द्र परित्याग गरि पदाधिकारीहरुसहित एमाले प्रवेश गरेका हिमाल कार्कीले आफुहरु मुलबाटोमा फर्किएको बताउनु भयो । संक्षिप्त सम्बोधन गर्दै कार्कीले जंगलमा बाख्रा हराएपछि सानातिना बाटोहरुमार्फत खोजी गर्न जादा नभेटिएको तर मुलबाटोमा हिडेपछि भेटिएको प्रसंग उल्लेख गर्दै देशको ठुलो पार्टी एमालेमा आउदा मुलबाटो भेटिएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौ, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’ कार्कीले नेकपा एमालेले झिना मसिना पार्टीका देशभक्त कार्यकर्तालाई गोलवद्ध गर्दै विश्व कम्युनिष्ट केन्द्रको रुपमा विकासित गर्ने उद्देश्यले सबै गोलबद्ध हुनुपर्ने पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्