काठमाडौं, माघ २४ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भीर हुन सक्ने बताउनु भएको छ । भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसिसीलाई गिजोलिएको पनि उहाँले टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र आइतबार बाहिरिएको थियो। उक्त पत्रमा एमसिसी अनुमोदन गर्न केही समय लाग्ने र आफूहरू एमसिसीकै पक्षमा रहेको दुवै नेताले उल्लेख गरेका थिए। तर माओवादीभित्र एमसिसीलाई अघि बढाउने कि नबढाउने भन्नेमा एकमत छैन।
यसैबीच प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार बालुवाटारमा एमसिसीलगायत विषयमा दुई घन्टा छलफल भएको थियो। उक्त छलफलमा प्रचण्डले चुनावपछि मात्रै एमसिसी अघि बढाउने प्रस्ताव गर्नुभएको थियो ।
प्रचण्डतर्फ संकेत गर्दै भट्टराईले दुईजिभ्रे प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ?, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘भित्र खाओवाद बाहिर माओवाद।’ उहाँले यस्ता प्रवृत्तिले गर्दा नेपाली राजनीति नसुध्रने पनि बताउनुभयो । ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन,’ उहाँले भन्नुभयो , ‘एमसिसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ। अति भए खति हुन्छ है ,’













प्रतिक्रिया दिनुहोस्