जनता टाइम्स

२४ माघ २०७८, सोमबार १७:१७

गठबन्धनलाई पेलेरै अघि बढे देउवा : सभामुख हटाउने प्रस्ताव ल्याउन समेत तयार


काठमाडौं, माघ २४ । प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली देखिनु भएको छ । काँग्रेस सभापति समेत रहेका उहाँ पार्टीभित्र शक्तिशाली बनि सक्नुभएको छ । बाह्य समर्थन पनि जुटाइसक्नुभएको छ । थप शक्तिशाली बन्नुभएका देउवा गठबन्धनलाई पेलेरै बढ्न थाल्नुभएको हो ।

देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश गराउनुभएको छ । सत्ता गठबन्धन दलका नेताहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव धकेल्न खोजेका थिए ।

प्रचण्डले वैशाखमा पहिले प्रतिनिधिसभाको चुनाव गर्न जोड बल गर्नुभएपनि अन्तत: उहाँको केहि लागेन। माधव नेपालले मंसिर या फागुन २०७९ मा तीन तहको चुनाव एकसाथ गर्ने प्रस्ताव गर्नुभएको थियो। उहाँहरुको प्रस्ताव र दबाबका बाबजुद देउवा ३० वैशाखमै चुनाव गर्ने निणर्य गनुभयो ।

अब देउवा एमसीसी पारित गर्न बढ्न लाग्नुभएको छ। यसका लागि पनि उहाँ पेलेरै जाने तयारीमा देखिनुभएको छ । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उभिइसकेका छन् । देउवाले अन्य विकल्पमा गएर भएपनि एमसीसी बढाउन खोज्दै हुनुहुन्छ । यसमा अवरोध बनेमा उहाँले सभामुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव ल्याउन समेत तयार देखिएको एक स्रोतले जानकारी दिएको छ ।