जनता टाइम्स

२६ माघ २०७८, बुधबार १७:४४

स्थानीय तहको निर्वाचन भाँडने षडयन्त्र बिफल, सर्वाेच्चले गर्यो भंगाहाका मेयरको रिट निवेदन दरपीठ


काठमाडौं, माघ २६ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार साहले दायर गर्नुभएको रिटलाई सर्वाेच्च अदालतले दरपिठ गरेको हो ।

मेयर साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै रिट निवेदन लिएर गएकोमा सर्वोच्चले दर्ता गर्न अश्वीकार गरेको हो । सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले आदेश जारी गर्दै स्थानीय तह निर्वाचन ऐन बमोजिम अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन पहिला चरणमा भएको मितिमा सम्पन्न भएको मानिने भएकाले निवेदकको दाबी आधारहीन भएकोले दरपीठ गरिएको जनाउनु भएको छ

२०७४ असोज २ मा सम्पन्न निर्वाचनको ५ वर्ष असोजमा मात्र पुग्ने भएकाले असोजपछिमात्र निर्वाचन हुनुपर्ने माग रिट निवेदकको रहेकोमा सर्वोच्चले वैशाख ३० लाई नै ५ वर्ष मान्ने प्रष्ट पारेको छ । सर्वोच्चको यो निर्णयसँगै वैशाख ३० मा हुने चुनाव अदालतबाट रोकिन सक्ने आशंकालाई अन्त्य गरेको छ भने अनेकन बाहानामा निर्वाचन हुन नदिइृ स्थानीय तहलाई जनप्रतिनिधिबिहिन बनाउने षडयन्त्र पनि बिफल भएको छ ।