काठमाडौं,माघ २७ । नेकपा एमालेले नियमावली संशोधन गर्दै केन्द्रीय विभागहरुको आकार बढाएको छ । पार्टी सञ्चालनका लागि एमालेले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित ३५ जना सदस्य रहने व्यवस्था गरेको हो ।
यसअघि एमालेका विभाग २५ सदस्यीय हुने ब्यवस्था थियो । तर पार्टी संरचना ठूलो भएको र धेरै नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गर्न विभागको आकार बढाइएको हो । विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने गरेकोमा अब केन्द्रीय कमिटीबाट मनोनयन हुने व्यवस्था गरिएको छ ।
नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ । पार्टी सस्यहरुको लेबीको मासिक ५ रुपैया केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ । यस्तै सांसद,मन्त्री,प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ ।
एमालेले अनुसन्धान प्रतिष्ठान र स्वयंसेवी संगठन समेत निर्माण गरी सञ्चालन निर्देशिका तयार पारेको छ । नियमावलीमा पार्टीका औपचारिक कार्यक्रममा पार्टीका साथै राष्ट्रिय झण्डा र राष्ट्रिय गान अनिवार्य गरेको छ । नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई अनिवार्य रुपमा जानकारी दिनुपर्ने व्यवस्था समेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्