जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १८:०३

कांग्रेसले तोक्यो १६ जिल्लाको अधिवेशन मिति


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १० गतेभित्र वडादेखि महासमितिसम्मका अधिवेशनहरु हुने बताउनुभयो ।

‘अधिवेशन हुन बाँकी रहेका जिल्लाको हकमा फागुन १३ गते र त्यसअघि फागुन १० गतेभित्र तल्लो तह, कतिपय वडा, पालिका र महासमितिसम्मका अधिवेशनहरु सम्पन्न हुनेछन्,’ संयोजक घिमिरेले भन्नुभयो । उहाँले सकेसम्म १३ भित्रै अधिवेशन सम्पन्न गर्ने बताउनुभयो । ‘काउन्टिङ गरेर ढिला भए फागुन १४ सम्म जाला। १५ गतेभित्र हामी सबै पक्रिया सकाउछौं,’ उहाँले थप्नुभयो ।

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाको हकमा मिति तोक्न निर्वाचन समितिलाई आग्रह गरेको थियो । १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । जसमा सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा बाँकी छ ।