जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार १०:२१

देउवालाई कांग्रेस शीर्ष नेताको दबाब थेग्नै गाह्रो, गठबन्धन टुट्ने सम्भावना बढ्यो


ईश्वरी बराल, काठमाडौं । आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोल्नुभएको छैन ।

१४औं महाधिवेशनमार्फत देउवापछि पार्टीको दोस्रो शक्ति बनेर उदाएका नेता शेखर कोइरालाले आगामी चुनावमा एक्लै लड्नुपर्ने प्रस्ताव पार्टीमा राख्नुभएको छ । उहाँका स्वकीय सचिव दिनेश थपलियाले भन्नुभयो, ‘शेखर दाजुले आगामी चुनावमा कांग्रेस एक्लै भिड्नुपर्छ भन्नुभएको छ ।’ नेता कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चुनावमा एक्लै भिड्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

नेता विमलेन्द्र निधिले पनि कांग्रेस चुनावमा एक्लै होमिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सार्वजनिक कार्यक्रम र पार्टीका कुनै औपचारिक/अनौपचारिक बैठकमा यसबारे केही नवोले पनि निधिले चुनावमा एक्लै लड्नुपर्ने पक्षमा रहेको उहाँनिकट नेताहरूले बताउनुभएको छ । निधिको प्रेस हेर्दै आउनुभएकोका पत्रकार रामजी दाहालले पनि यसबारे पुष्टि गर्नुभयो ।

दाहालले भन्नुभयो, ‘आगामी चुनावमा कांग्रेसले एक्लै चुनाव लड्दा फाइदा हुने पक्षमा निधि दाइ हुनुहुन्छ, कांग्रेस एक्लै चुनावमा लड्नुपर्ने उहाँको धारणा छ ।’ पाँचदलीय उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले भने सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने बताउनुभएको छ । केही दिनअघि पोखरामा एक सार्वजनिक कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

समिति संयोजक र पार्टीमा पनि हैसियत भएका नेताले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने कांग्रेस चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिन्छ भन्न मिल्छ । तर महत्वपूर्ण विषयमा पार्टीभित्र सभापति देउवाले एकल निर्णय गर्दै आएकाले पौडेलको अभिव्यक्तिले खास अर्थ नराख्न पनि सक्छ । शेखर कोइराला समुहले एकल रूपमा भिड्ने माग गरिरहदा देउवालाई पार्टीभित्र दबाब भने पर्ने देखिएको छ । देउवा प्रधानमन्त्री बनेपछि संविधान र लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गर्न सहयोग गर्ने उदेश्यले सत्तारुढ पाँचदलीय गठबन्धन गठन गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको ११ सदस्यीय समिति गठन भएको थियो । अत्यन्तै जटिल र पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, स्थानीय तहको चुनावको मिति तय लगायत अन्य समसायिक राजनीतिक एजेन्डाका कारण सत्ता गठबन्धनमा खटपट आउने संशय पैदा भएको छ । (न्युज कारखाना)