जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार ११:३२

पूर्वमन्त्री पार्वत गुरुङको घोषणा : जुनसुकै गठबन्धन आए पनि ९ ओटै पालिकामा एमालेको जीत निश्चित छ


दोलखा, फागुन १ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोलखाको सवै पालिकामा एमालेले सानदार बिजय हासिल गर्ने ठोकुवा गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम र जिल्लामा एमालेले नेतृत्व गरेको बिकाशका कामलाई निरन्तरता दिन सवै पालिका र वडामा एमालेले सानदार जीत हासिल गर्ने गुरुङको भनाई थियो ।

‘जनदवावको कारण जनादेशसँग डराउने परमादेसी पञ्चमुखी सरकार बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएको छ, यो निर्वाचनमा हामी जुनसुकै गठबन्धन गरेर आए पनि दोलखाली जनताको बीचमा स्पष्ट खाका लिएर जानेछौं, एमाले दोलखाको बिकाशको अबिभावक पार्टी भएको नाताले समृद्ध दोलखा निर्माणको अभियानलाई अघि बढाउन ९ ओटै पालिका र ७४ ओटै वडामा सानदार जीत हालि गर्ने छौं,’ पूर्व सञ्चार तथा सूचना पविधिमन्त्रीसमेत रहनुभएका नेता गुरुङले भन्नुभयो ।

उहाँले दोलखामा एमालेसँग कुनै पनि गठबन्धनले टक्कर दिन नसक्ने भन्दै मुलुकको समृद्धिको अभियानमा बाधक बनेको पाँच दलीय गठबन्धनलाई चुनवमा जनताले कडा सजाय दिने बताउनु भयो । ‘जुनसुकै दलसँग गठबन्धन गरेर आए पनि दोलखामा कांग्रेस समाप्तीको बिन्दुमा पुगेको छ, कांग्रेसको औला समातेर अरु दल आउँदा पनि हामीलाई कुनै फरक पर्दैन, अघिल्लो चुनावमा सात पालिका मात्रै जितेका थियौं, अवको चुनावमा ९ ओटै पालिकामा जितेर दोलखाबाट अन्य दल सकिए भन्ने सन्देश दिनेछौं, यो कुनै दम्भ होइन, दोलखाली जनता नेकपा एमालेको पक्षमा रहेको स्पष्ट आधारका कारण भनिएको हो,’ प्रेस चौतारी दोलखाको जिल्ला अधिवेशनमा बोल्दै नेता गुरुङले भन्नुभयो ।

गत २०७४ सालको निर्वाचनमा एमालेले बिगु र बैतेश्वर गाउँपालिकाको नेतृत्व गुमाएको थियो । सो निर्वाचनमा पनि कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लडेको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा समाहित भएको नेकपा एकीकृत समाजवादी केन्द्रको दोलखामा खासै हैसियत नरहेको नेता गुरुङले बताउनु भयो । माओवादी पनि अघिल्लो निर्वाचन भन्दा अहिले आधा घटिसकेको उहाँको बिश्लेषण रहेको छ ।

उहाँले दोलखामा राजनीतिमा अपराधीकरण हावी हुन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । ‘अहिले जसरी राजनीतिमा अपराधीकरण हावी हुन थालेको छ, यो रोगको बेलैमा उपचार गर्न जरुरी छ, आउदो निर्वाचनबाट जनताले अपराधीकरणको पक्षमा रहेको दललाई शल्यक्रिया गरेर फाल्नुपर्छ,’ गुरुङले भन्नुभयो ।

यस्तै एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर र सचिव हिरा थोकरले पनि आगामी निर्वाचनमा सवै दललाई एमालेले क्लीन स्वीप गर्ने ठोकुवा गर्नुभयो । ‘एमालेले सवै वडा जितेर समृद्ध दोलखाको नेतृत्व लिनेछ, हामी गर्न बाँकी रहेका काम अव पूरा गर्नेछौं,’ तीनै जना नेताहरुको भनाई थियो ।