जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार ११:४४

अस्ताए नेपाली साहित्यिक क्षेत्रका एक हस्ती


काठमाडौं, फागुन ३ । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मनु भएका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो ।

शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित हुनुहुन्थ्यो । शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित हुनुहुन्छ ।

अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो । उहाँले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाउनु भएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो ।

‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा,’ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्वीटर मार्फत भनेको छ । शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाउनु भएको थियो । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाएका उहाँ २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित हुनुभएको थियो ।