जनता टाइम्स

४ फाल्गुन २०७८, बुधबार १८:४०

कांग्रेस कैलाली अधिवेशन : कोइराला पक्ष जुट्यो छुट्टै टीमको तयारीमा


धनगढी, ४ फागुन । नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ । संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको छ ।

‘संस्थापन पक्षले सवैलाई मिलायर लैजानुभन्दा कसैलाई कारबाही गरेर कसैलाई बेवास्ता गरेर पार्टीलाई अगाडी बढाउन खोजिएको छ,’ कांग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले भन्नुभयो, ‘यसले पार्टीलाई झनै कम्जोर बनाउने देखिन्छ । यस्तो प्रवृतिलाई निरुत्साहित पार्न हामीले पार्टी सुदृढिकरण अभियान थालेका छौं ।’ नेतृत्वले गुटबन्दीलाई प्रोत्साहन दिएको, नेतृत्वमै पूवाग्रही सोच पलाएको भन्दै उनले त्यसले पार्टीलाई झनै कम्जोर बनाउने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस कैलालीको अधिवेसनमा कोइराला पक्षबाट प्यानल सहति उम्मेदवारी दिने समेत बताउनुभयो । कांग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले कांग्रेसलाई बलिाये बनाउन आफूहरू सक्रिय बनेको बताउनुभयो । ‘हामी जिल्लाभरका कार्यकर्तासँग भेट गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘कार्यकर्ता नेतृत्वको शैलीप्रति असन्तुष्ट बनेका देखिन्छन् । यसको समीक्षा हुनु जरुरी छ ।’

उहाँले जिल्ला अधिवेसनलाई लक्षित गरेर फागुन ५ गते कैलालीको लम्कीमा क्षेत्रनम्बर–१ र २ स्तरिय भेला गरिने, फागुन ६ गते घोडाघोडीमा क्षेत्रनम्बर–३ र ४ स्तरिय भेलागर्ने र फागुन ७ गते धनगढीमा क्षेत्रनम्बर–५ स्तरिय भेलाको आयोजना गरिने बताउनुभयो । फागुन ७ गते धनगढीमा आयोजना हुने क्षेत्रनम्बर–५ स्तरिय भेलाबाट जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिने उहाँले बताउनुभयो ।

संस्थापनबाट सभापतिमा दुई जनाको उम्मेदवारी घोषणा, आकांक्षी धेरै

नेपाली कांग्रेस कैलालीको सभापतिका लागि संस्थापन पक्षबाट सभापतिमा दुई जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस कैलालीका निर्वतमान उपसभापति तथा कार्यबहाक सभापतिसमेत रहेका प्रकाश बम र महाधिवेसन प्रतिनिधि भीम बडुवालले औपचारिक रूपमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । कार्यबहाक सभापतिसमेत रहेका बमले गत मंसिरमै सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

बडुवालले पुसमा सभापतिका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो । सभापतिका आकांक्षी बमले आफ्नो जित निश्चित भएको दाबी गर्नुभएको छ । ‘जिल्ला अधिवेशनमा मेरो जित निश्चित छ,’ बमले मंगलबार पत्रकार सम्मेलन गर्दै भन्नुभयो, ‘त्यसैले मैले अर्को उम्मेदवारलाई समर्थन गरेको हल्ला जिल्लाभरि फैलाइएको छ ।’

भूमि आयोगको अध्यक्ष बनाउने निश्चित भइसकेको र अर्का उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको भन्ने हल्ला चलाइएको उल्लेख गर्दे बमले भन्नुभयो, ‘मलाई अहिलेसम्म आयोगको अध्यक्ष बन्ने अफर आएको छैन । आए पनि म त्यसलाई स्वीकार गर्दैन । पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छु ।’

सभापतिमा निर्वाचित भएर जिल्लामा कांग्रेसको संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा कैलालीमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने आफ्नो लक्ष्य रहेको बमले बताउनुभयो । सभापतिमा रोक्नसक्ने संभावना नदेखेपछि केही उम्मेदवार र नेताहरूले यो हल्ला फैलाएको उहाँको आरोप छ ।

बाहिर चलाइएको हल्ला गतल भएकोले त्यसलाई आफूले खण्डन गरेको बमले बताउनुभयो । सभापतिका उम्मेदवार बमले सबै क्षेत्रलाई मिलाएर आफूले एकरदुई दिनभित्रै टीम घोषणा गर्ने जानकारी दिनुभयो । पार्टीको केन्द्रले अहिलेसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको पनि उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले कुनै उम्मेदवारलाई समर्थन गरिसकेको भन्ने हल्ला पनि झुठो भएको बमको भनाइ छ ।

अहिले सभापतिमा आकांक्षा देखाए सबै उम्मेदवार देउवा पक्षकै रहेका र केन्द्रले अहिलेसम्म कसैलाई पनि उम्मेदवार नतोकेको उहाँले बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी कायमै रहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गर्नुभएको थियो ।फागुन १३ गते हुने जिल्ला अधिवेसनमा सभापतिका लागि संस्थापन पक्षमै धेरै आकांक्षी रहेका छन् । उनीहरूले हालसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

संस्थापन पक्षबाटै सभापतिमा उम्मेदवारी घोषणा गरेका अर्का आकांक्षी बडुवाल अघिल्लो अधिवेशनमा सभापतिमा पराजीत उम्मेदवार हुन् । उहाँले आफू जिल्लाभर पार्टी संगठन निर्माण र कांग्रेसलाई गुटबन्दी रहित बनाउन निरन्तर लागेको हुँदा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । ‘अघिल्लो अधिवेशनमा पनि प्राविधिकरुपमा निर्वाचनमा हारेर सभापति हुन सकेन,’ बडुवालले भन्नुभयो, ‘म स्वभाविकरुपमा त्यतिवेला देखिनै सभापतिको उम्मेदवार हुँ ।’

कांग्रेस कौललीको जिल्ला अधिवेसनमा संस्थापन पक्षबाट सभापतिमा अन्यले उम्मेदवारी घोषणा भने गरेका छैनन् । तर, सभापतिका लागि कैलाली क्षेत्र नम्बर–५ बाट महाधिवेशन प्रतिनिधि रहेका नारायणदत्त भट्ट पनि सशक्त उम्मेदवारका रुपमा रहनुभएको छ । यसका अलावा कैलाली क्षेत्रनम्बर–१ महाधिवेसन प्रतिनिधि तपेन्द्र रावलले पनि सभापतिमा आकांक्षा देखाउनुभएको छ । कोइराला पक्षले संस्थापन पक्षमा धेरै आकांक्षी हुँदा कुनै एक समूहसँग मिलेर आफ्नो टीमलाई बलियो बनाउन सकिने बताएको छ ।