जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार ११:०१

सत्ता गठबन्धनको बैठक सुरु : एमसीसी टेबल गर्न नदिए सभामुख हटाउनेदेखि मन्त्री बर्खास्तसम्मको तयारीमा प्रधानमन्त्री


काठमाडौं, फागुन ८ । सत्ता गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन भत्काउने मनस्थिती बनाउनुभएको छ । साथै उहाँले माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउनेसम्मको तयारी गर्नुभएको छ ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भन्नुभएको छ। अनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सत्ता सहयात्रामा पूर्णविराम लगाउने निर्णयमा पनि देउवा पुग्नुभएको छ। यस्तै एमसीसी टेबल गर्न तयार नभए माओवादी केन्द्रका सबै मन्त्रीलाई तत्काल बर्खास्त गरेर सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा बालुवाटार छ ।

‘एमसीसी टेबल गर्न सहमति नभए माओवादीकै मन्त्री बर्खास्त गर्ने, सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आउन सक्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘माओवादीको ढुलमुले पारा अब चल्दैन । तत्कालै निर्णायक तहमा वार्ता टुंग्याएर एमसीसी आज जसरी पनि टेबल गरिन्छ ।’

एमसीसी टेबल गर्न कांग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी तयार छन् । तर माओवादी अध्यक्ष प्रचण्ड मात्रै तयार देखिएका छैनन । आजको सत्ता गठबन्धन प्रचण्डविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् ।

साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए ।आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ । अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार र सत्ता साझेदार दलहरु दबावमा छन् ।