काठमाडौं, फागुन ८ । सत्तारुढ गठबन्धन दलका शिर्ष नेताले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरुको आन्तरिक बिवाद छताछुल्ल भएको छ ।
सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिए लगत्तै दलका अन्य नेताहरु निर्णयको विरोधमा उत्रिनुभएको हो । शुक्रबार विहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकले एमसीसी आज संसदमा टेबुल गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाएन । त्यस्तै एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरुलाई पनि बोलाइएको थिएन । शिर्ष नेताहरुले पार्टी भित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको भन्दै कडा प्रतिवाद गर्नुभयो । ‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ समाचार एजेन्सी न्युज कारखानासँगको कुराकानीमा श्रेष्ठले भन्नुभएको छ ।
एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि कडा आपत्ति जनाइसक्नु भएको छ । खनालले विदेशीको दबाबमा पार्टीहरु झुकेर एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै राष्ट्रघाती काममा शीर्ष नेता लागेको बताउनु भयो । उहाँले संविधान विपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको आरोप पनि लगाउनु भएको छ ।
‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भन्नुभएको छ । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको खनालले स्मरण गराउनु भयो । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भन्नुभयो ।
एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार विहान बसेको बैठकमा आफूलाई नबोलाइएको उहाँले बताउनु भयो । पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गर्नुभयो । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले बताउनु भयो ।
‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भन्नुभयो, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ केसी एमसीसीको विपक्षमा हुनुहुन्छ । उहाँको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्