जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १९:४९

दुर्गा प्रसाईंले दर्ता गरे ‘नेपाल पथ दल’, चुनाव चिह्न परिवारसहितको घर


काठमाडौं, असोज २२ । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता भएको छ।

प्रसाईंले लामो समयदेखि नेतृत्व गर्दै आउनुभएको नागरिक बचाउ महाअभियानलाई यसअघि निर्वाचनअघि ‘नागरिक बचाउ दल’ नामकरण गरी निर्वाचन आयोगमा दर्ता गरिएको थियो। उक्त दलको अध्यक्षमा माधवप्रसाद खतिवडा रहनुभएको थियो।

अहिले सोही दलको नाम संशोधन गरी ‘नेपाल पथ दल’ कायम गरिएको खतिवडाले बताउनुभएको छ। उहाँका अनुसार नाम संशोधनपछि निर्वाचन आयोगबाट नयाँ प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ।

यसअघि प्रसाईंले राप्रपाबाट अलग हुनुभएका डा. धवलशम्शेर राणासँग सहकार्य गर्दै ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गर्नुभएको थियो। दुवै पक्षबीच केही विषयमा सहमति हुन नसकेपछि प्रसाईं उक्त सहकार्यबाट अलग हुनुभएको थियो। राणाको नेतृत्वमा ‘जय नेपाल’ दल भने निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको बताइएको छ।

नेपाल पथ दलले परिवारसहितको घर चुनाव चिह्न लिएको छ। दलमा ३५१ सदस्यीय केन्द्रीय समिति रहेको जनाइएको छ। प्रसाईं बाहेक अन्य पदाधिकारी भने चयन भइसकेका छैनन्।