काठमाडौं, असोज २२। सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ती अध्यादेश बिहीबार साँझ करिब ५ बजे राष्ट्रपति कार्यालय पुगेका हुन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरिएको हो।
भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याउन लागिएको हो। हाल १२ वर्षदेखि बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्का घटनामा ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा प्रस्ताव गरिएको छ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि त्यसमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आउनेछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अध्यादेशहरू राष्ट्रपति कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी छ।
उहाँले तीन वटा अध्यादेश बिहीबार साँझ ५ बजेतिर राष्ट्रपति कार्यालयमा आइपुगेको जानकारी दिनुभयो।












प्रतिक्रिया दिनुहोस्