काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत आज बिहान ७ बजेदेखि हुने भनिएको मतदान दिनभरि पटक–पटक स्थगित हुँदै अन्ततः भोलि बिहानका लागि सारिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको अत्यावश्यक सूचनामार्फत निर्धारित समयमा मतपत्र छपाइको काम पूरा हुन नसके पनि अहिले सबै मतपत्र छपाइ भइसकेको जनाएको छ। समितिका अनुसार मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति तथा मतदान केन्द्रका लागि आवश्यक व्यवस्थापनसमेत पूरा गरिएको छ।
यसअघि रातको समयमा मतदान गराउन उचित नहुने भन्दै विभिन्न कोणबाट प्राप्त सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत दृष्टिगत गरी निर्वाचन कार्यक्रम पुनः निर्धारण गरिएको समितिले जनाएको छ। नयाँ कार्यतालिकाअनुसार भोलि असोज २३ गते बिहान ७ बजेदेखि जेष्ठ मतदाताबाट मतदान प्रारम्भ गरिनेछ। मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी सूचनामा मतदाताहरूलाई मतदानका लागि भोलि बिहानसम्म प्रतीक्षा गर्न आग्रह गरिएको छ।













प्रतिक्रिया दिनुहोस्