जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १३:३०

भिम रावल छाडा साँढे होइनन् : महेश बस्नेत


धनगढी, १० फागुन । एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाउनुभयो । बस्नेतले भिम रावल छाडा साँढे नभएको भन्दै सबै पार्टीको अनुशासनमा बस्नुपर्ने बताउनुभयो ।

‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भन्नुभयो, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाउनुभयो । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भन्नुभयो, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’

बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताउनुभयो । प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उहाँले भन्नुभयो,‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’

एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उहाँले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताउनुभयो । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उहाँले बताउनुभयो । इन्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’