जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १५:४७

युक्रेनी भू–भागलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम राष्ट्रसंघीय बडापत्रविपरीत छ : नेपाल


काठमाडौं, १२ फागुन । युक्रेन–रुस संघर्षबारे नेपालले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम संयुक्त राष्ट्रसंघीय बडापत्र (यूएन चार्टर) विपरीत रहेको बताएको हो । रुसको नाम उल्लेख नगरी जारी गरिएको वक्तव्यमा नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ। नेपालले सम्बन्धित पक्षलाई तनाव नचर्काउन पनि आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसंघको एक सदस्यको रुपमा नेपालले सार्वभौमिकता र भौगोलिक अखण्डतालाई राष्ट्रसंघको बडापत्रले सम्मान गरेको र त्यसलाई सबै सदस्यराष्ट्रले मान्नुपर्दछ।’ त्यस्तै नेपालले सार्वभौमसत्तासम्पन्न देशमाथिको कुनै पनि अवस्थामा हुने आक्रमणको विरोध गर्ने र कुनै पनि संघर्षको शान्तिपूर्णरुपमा कूटनीति र संवादबाट हल खोज्नुपर्ने उल्लेख छ।