बुटवल, फागुन १५ । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेका थिए ।
चुनावबाट अध्यक्षसहित पदाधिकारीमा एमाले उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई क्लीन स्वीप गरेका छन् । शनिबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार ३ हजार १०१ मत खसेको चुनावमा एमालेका अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका मोतिलाल ढकालले १२ सय ६७ मत प्राप्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष कुँवर खानेपानी संस्थाका हालका अध्यक्ष हुन् भने पराजित ढकाल यसअघिको अधिवेशनमा पनि कुँवरसँगै पराजित हुनुभएको थियो । उपाध्यक्षमा एमालेकै उम्मेदवार अनिशा पौडेल १५ सय ९ मतसहित विजयी हुँदा गठबन्धनकी उम्मेदवार मिनादेवी रिमालले १३ सय ९८ मत पाएर पराजित हुनुभयो । सचिवमा एमालेका हरि पाण्डेयले १५ सय ६१ मत पाएर विजयी हुनुभयो ।
उहाँका प्रतिस्पर्धी गठबन्धनका डिल्लीराज मरासिनीले १३ सय २४ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा एमाले उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत प्राप्त गरेर विजयी हुँदा गठबन्धनका उम्मेदवार थानेश्वर भट्टराईले १२ सय २७ मत पाउनुभयो । देवदह नगरपालिकाका वडा नंं। ५, ६, ७, ८ र ९ का उपभोक्ता रहेका खानेपानीको निर्वाचनमा वडागतरुपमा पनि सबै वडामा गठबन्धन भन्दा एमाले उम्मेदवारले धेरै मत पाएका छन् । निर्वाचनमा ४८ मत बदर भएको निर्वाचन अधिकृत पदमराज भुसालले जानकारी दिनुभयो ।
यो खानेपानी संस्थाको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर उपभोक्तालाई छुटैछुटको अफरसहित एक हप्तासम्म चुनावी अभियान चलाएका थिए । नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले ६ दलको गठबन्धन गर्दा पनि जित्न नसक्नु गम्भीर समीक्षाको विषय भएको प्रतिक्रिया दिनुभयो । ‘केन्द्रमा कांग्रेसका एकथरि नेताहरु गठबन्धन गर्न हुँदैन, कांग्रेस एक्लै जित्छ भन्दै कुर्लिनुहन्छ तर धरातल अर्कै छ,’ भुर्तेलले भने, ‘देवदह खानेपानीको चुनावको नतिजा आउने स्थानीय, प्रदेश र संघको चुनावका लागि उदाहरण र पाठ हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्