जनता टाइम्स

१५ फाल्गुन २०७८, आइतबार १९:३३

यसरी उदांगियो माधव–प्रचण्डको हरामीपन


नेपाललाई साँचै नै अमेरिकाले सहयोग गर्न चाहेको हो भने सिधै रकम सहयोग गरे भैहाल्यो नी ! किन यसलाई परिधिभित्र बाँधेर मुलुकलाई नै समस्यातर्फ धकेल्ने गरी सहयोग गर्नु पर्यो ? मुलुक सहजरुपमा अगाडी बढेमा नेपालले एमसीसी परियोजना अन्तगर्त हुने काम भन्दा पनि धेरै विकास निर्माणका कामहरु अबको केही वर्षमै गर्न सक्छ । अन्यथा मुलुकभित्र भैरहेका समृद्धि र विकासका लहरहरु पनि सेलाउँदै जाने, मुलुक पुनः भयावह अवस्थामा पुग्ने निश्चित् छ

सविन प्रियासन

अन्तत्वगत्वा सत्ता टिकाउनका लागि गठवन्धनबीच एमसीसी पास गर्ने फोहोरी सहमति भएको छ । एमसीसी परियोजना राष्ट्रका लागि घातक छ भन्ने आम जनमानसले कुरा उठाउँदा उठाउँदै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा बसेर लुट मच्चाउन एमसीसी अनुमोदन गर्ने सहमति जनाएका छन् । नेपाली कांग्रेसले यस अगाडि नै एमसीसी अनुमोदन गर्ने निर्णय गर्दै कहिले सत्ता गठवन्धनमा सामेल दलहरु, कहिले प्रतिपक्ष एमालेसँग सहमतिको प्रयास गरिरहेको थियो । एमालेले आफूले उठाएका माग सम्बोधन नहुँदासम्म यस विषयमा कुरा गर्ने अडान कायम राखेपछि नेपाली कांग्रेस माओवादी र समाजबादीलगायतका दलहरुसँग यस विषयमा सहमति गर्न सफल बन्यो ।

जेहोस्, नेपाली कांग्रेसले आफूले अगाडी सारेको निर्णय कार्यान्वयन गर्नका लागि सफलतातर्फ उन्मूख बनेको छ । तर दुःखको कुरा एमसीसी खारेज गर्नुपर्छ भन्दै सडक तताइरहेको सत्ता गठवन्धनकै प्रमुख दलहरु माओवादी केन्द्र र समाजबादीले आफ्नो अडानलाई लात हानेर सत्ताकै लागि एमसीसी पारित गर्न अग्रसर हुनु विडम्वनाको विषय बनेको छ । तथापी अहिले पनि माओवादी केही नेताहरु एमसीसी पारित हुनुहुँदैन, यो राष्ट्रघाती छ भनेर कुर्लन छाड्नु भएको छैन ।

एमसीसी परियोजना मुलुकको हितमा छ वा अहितमा छ । त्यो पछिको कुरा हो । यो परियोजनालाई पास गरेको भएपनि यस अगाडी नै राष्ट्रिय सहमति कायम गरेर पास गरेको भए सायद यसले मुलुकमा दिर्घकालिन असर पु¥याउँदैनथ्यो होला ? तर अब यो लागू गर्नु भनेको मुलुकको लागि भविष्यमा ठूलै खतरा उत्पन्न गर्नु हो । सरकारले निर्णय गर्दैमा एमसीसी परियोजना मुलुकमा सजिलै लागू गर्न मुस्किल छ ।

एमसीसी परियोजना अन्गर्त निर्माण हुने भनिएका सबै संरचना निर्माण कार्यमा अब मुलुकभित्र ठूलो वाधाव्यवधान उत्पन्न हुनेछ । यो कुराले गर्दा भोलिका दिनमा अमेरिकाले आफूले लगानी गरेको संरचनाको रेखदेख गर्छु भन्ने बाहनामा उसले आफ्नो सेना नेपाल भित्राउन सक्छ । यस्तो भयो भने स्वाभाविकरुपमा अमेरिकी सेनाका कारण नेपाल रणमैदान बन्न सक्छ । यस हिसाबले पनि अब एमसीसी नेपालका लागि घातक बनि सकेको छ । जे जे भनेर एमसीसी पास गरे पनि माधव नेपाल र प्रचण्डको हरामीपनलाई भने उदांगो बनाएको छ । सत्ताका लागि देश केही होइन भन्ने यी दुई नेताको आधुनिक मार्कर्वाद पनि जनताले बुझ्न पाएका छन ।

अमेरिका यतिबेला विश्वकै सबै भन्दा अबसरवादी मुलुक बनेको छ । अमेरिका धनी छ । जसले गर्दा उसले विपन्न मुलुकहरुलाई सुरुमा सबै खाले सहयोग गर्छ । तर कठिन समयमा उसले सबैलाई साथ छाड्छ । जसको पछिल्लो उदाहरण अफगानिष्तान र युक्रेन बनेको छ । सुरुमा अफगानिष्तानमा लगानीको बौछार लगाएर अमेरिकाले सबै खाले कार्य गर्न सक्छ भन्ने कुरा स्थापित गर्न खोज्यो । तत्कालिन सरकारले यही भ्रममा रहेर आफूलाई कुनै पनि कुरामा आत्मनिर्भर गराउन सकेन । तर अमेरिका एकाएक भाग्यो, जसले गर्दा त्यहाँ बिद्रोहीले कव्जा जमायो । यतिबेला युक्रेनमा पनि त्यस्तै हालत छ । अमेरिकाले युक्रेनलाई यतिसम्म आश्वासन दियोकि रुसले आक्रमण गरेको खण्डमा उति नै बेला अमेरिकाले सेना पठाउनेछ । यही आडभरोसामा महाशक्ति रुससँग लड्ने आँट युक्रेनले गर्यो । तर अमेरिका फेरि पनि रुपैया सहयोग गर्छु तर आफू आउँदैन भन्दैछ । जसले गर्दा ढिलो चाँडो युक्रेन पूर्णरुपले बर्बाद हुनेछ । नेपालमा पनि अमेकिारले गर्न खोजेको यही हो ।

शान्ति क्षेत्रमा रुपान्तरित भैसकेको नेपालमा अमेरिकाले यी र यावत कुराहरुको प्रलोभन देखाएर अनेकन समस्याहरु सिर्जना गरेर अमेरिकन सेना भित्राउने, केही वर्ष यहाँ रहने, त्यसपछि जब अमेरिकन गतिविधिका कारण चीनलगायतका मुलुकहरुले नेपालमा आक्रमण गर्नेछन्, त्यतिबेला अमेरिका यहाँबाट भाग्ने सिवाय अर्को काम हुनेछैन । तसर्थ एमसीसी परियोजना हरेक कोणबाट यतिबेला मुलुकका लागि घातक सिद्ध भैसकेको छ । यसलाई स–सम्मान फिर्ता गर्नुको विकल्प छैन । यसको पछाडि लागेर मुलुक पुनः द्धन्द्धको अवस्थामा जाने निश्चित छ । एकातिर दिनदिनै यसका कारण सडक तातिनेछ । अर्कोतर्फ मुलुक दुईध्रुबमा बाँडिनेछ । यहीकारणले गर्दा पछिल्लो समयमा मुलुकले लिएको समृद्धि र विकासको यात्राले समेत पुनः बिश्राम लिन्छकि भन्ने देखिएको छ ।

पैसा मात्र ठूलो कुरा होइन । जुन यतिबेला युक्रेनको अवस्थाले देखाइ सकेको छ । युक्रेन नेपाल भन्दा धेरै गुणा धनि मुलुक हो । ऊ आफैमा पनि सक्षम छ । तर रुसको अगाडी ऊ लाचार जस्तै बनेको छ । सिंगो विश्वको तागतले युक्रेनबाट रुसी सेना फिर्ता भएपनि युक्रेनले व्यहोरेको क्षतिलाई अहिलेकै तुलनामा ल्याउन दशौ वर्ष लाग्नेछ । तसर्थ अमेरिकाले एमसीसीका नाममा बनाउन लागेको विकासे संरचनाहरु पनि भोलि ध्वस्त हुन सक्छन् । यसैका कारण नेपाल आफैले बनाएका संरचनाहरु पनि खण्डहरमा परिणत हुन सक्छन् । नेपालले चाहेमा आफै पनि केही गर्न सक्छ, संरचनाहरु निर्माण हुन सक्छन् भन्ने कुरा केही वर्ष यता स्थापित भैसकेको छ । तसर्थ एमसीसीका नाममा नेपाली भूमिमा हुने विखण्डन अनि महाविनाशलाई मन्द विषकारुपमा कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलहरुले ग्रहण गर्ने जमर्को गरिरहेका छन् । जुन भविष्यमा हामी सबैका लागि अभिश्रापको विषय बन्नेछ । समय अझै केही बिग्रिएको छैन ।

एमसीसी परियोजना अन्तगर्तको सहयोग सायद जतिबेला यसलाई नेपालमा भित्राउने भनिएको थियो, त्यतिबेला आवश्यक थियो होला ? तर, समयसँगै नेपालको अवस्थामा धेरै परिवर्तन आइसकेकोछ । नेपालीहरु आर्थिक अभावका कारण फेरि हतियार उठाउँनेछन्, नेपालमा आतंकबादी क्रियाक्लापहरु हुनेछ भन्ने परिकल्पनाकासाथ लाद्न खोजिएको एमसीसी अहिलेको अवस्थामा नेपालका लागि कुनैपनि कोणबाट उपयुक्त छैन । नेपाल शान्त बनि सकेको छ । तर दुःखका साथ भन्नुपर्छ एमसीसीका कारण नेपालमा कुनै न कुनै किसिमको खराब क्रियाक्लापहरु सुरु हुन सक्छ कि भन्ने आशंका बढ्न थालेको छ ।

नेपाललाई साँचै नै अमेरिकाले सहयोग गर्न चाहेको हो भने सिधै रकम सहयोग गरे भैहाल्यो नी ! किन यसलाई परिधिभित्र बाँधेर मुलुकलाई नै समस्यातर्फ धकेल्ने गरी सहयोग गर्नु पर्यो ? मुलुक सहजरुपमा अगाडी बढेमा नेपालले एमसीसी परियोजना अन्तगर्त हुने काम भन्दा पनि धेरै विकास निर्माणका कामहरु अबको केही वर्षमै गर्न सक्छ । अन्यथा मुलुकभित्र भैरहेका समृद्धि र विकासका लहरहरु पनि सेलाउँदै जाने, मुलुक पुनः भयावह अवस्थामा पुग्ने निश्चित् छ ।