जनता टाइम्स

१६ फाल्गुन २०७८, सोमबार १९:०९

कांग्रेस कैलालीको नेतृत्वका लागि दोश्रो चरणमा निर्वाचन हुने


धनगढी, १६ फागुन । कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोश्रो चरणमा निर्वाचन हुने भएको छ । आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोश्रो चरणको निर्वाचन हुने भएको हो ।

कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिनुभएको थियो ।आज सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाउनुभएको छ, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाउनुभएको छ ।

दोश्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ । दोश्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताउनुभयो । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिको मत खसेको थियो ।