जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार ०७:१४

तथ्यबाट स्थापित सत्य : राजनेता ओलीसँग मिल्ने शिरानी, ठोक्किने खरानी


प्रधानमन्त्री शेरबहादुर देउवाको ओली निवास बालकोट प्रवेश एक युगान्तकारी घटना हो । २०४६ सालदेखि लोकतन्त्रको लागि सहकार्यमा रहे पनि कांग्रेसको सामन्तवादले वामपन्थीहरुलाई मान्छे मान्न, इज्जत गर्न र समान हैसियत दिन मानिरहेको थिएन । जनताप्रतिको ओलीतपका अगाडि कांग्रेस गलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बालकोट प्रवेश देशको मियोको भूमिका कांग्रेसबाट एमालेमा सरेको सच्चाईको पुनर्पुष्टि हो

दयालबहादुर शाही

एमाले नै देशको मियो

फागुन १५ गते प्रतिनिधि सभाले नेपाल सरकारले गरेको अमेरिकासँगको अनुदान सहायता सम्झौतालाई अनुमोदन गरेको छ । कानुनी रुपमा कुनै अन्तर्राष्ट्रिय मान्यता नरहने व्याख्यात्मक टिप्पणी, जसको पक्षधर नेपाल सरकार मात्र छ, त्यसैमा टिकेर एमसीसीको पक्षमा सत्तारुढ गठबन्धनका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लतारिन पुगेको जगतले छ्याँङ्गै देख्यो । सडकमा राष्ट्रसेवक प्रहरीसँग अकारण भिड्न उतारिएका कार्यकर्ताहरुको चोटपटकमा खाटा नबस्दै कुर्सीका लागि आफ्नो ब्रह्मले देखेको सत्यका विरुद्धमा उभिने बानीलाई सबैले देख्ने गरी नेताद्वयले नवीकरण गरे ।

कांग्रेस नेताहरुबाटको समेत तिरस्कार, अपमान, हप्काई र निन्दावर्षालाई वास्ता नगरी सत्तागठबन्धन र सत्तायात्रालाई टिकाउन सकेकोमा नेताद्वयले चैनको सास फेरे र घिरौंला जत्रो नाक पारे तर लाजले पनि लाज मानेको छ । यसको विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्वता र कांग्रेस महामन्त्री गगन थापाको प्रखरताको पारो चुलिएको छ । देउवा र थापाको पखालिएको मैलो र प्रचण्ड–माधवको चिनारीमा थपिएको कालोकैलोको मुहान राजनेता केपी ओलीसँग समन्धको प्रकृतिमा रहेको छ । यो एक संयोग मात्र होइन, एक सिलसिला हो झापा आन्दोलनदेखिकै एक सिलसिला छ– ओलीसँग मिल्ने जति सबै देश र जनताको शिरानी बनेका छन र ओलीसँग ठोक्किने जति खरानी भएका छन । अर्काे शब्दमा भन्नु पर्दा ओलीसँग मिल्ने हिरो र नमिल्ने जति जिरो हुने सिलसिला जारी छ ।

नेतृत्व गरेर होस वा अरुलाई काँध थापेर होस ओलीको दीर्घराजनीतिक साधना र अटल निष्ठा नेपाल, नेपाली जनता र नेकपा (एमाले) प्रति छ । सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपालका लागि असल र अटल सहायक बनेको कीर्तिमान ओलीका नाममा मात्र सुरक्षित छ । आफूसँग ठेसिदा सीपी र वामदेवलाई कर्कलो बनाएको गर्बिलो विरासत पनि ओलीसँगै छ । नेपालको वामपन्थी आन्दोलनको शान, स्वाभिमान, इज्जत र प्रतिष्ठालाई देउवाको दैलोमा बुझाउने प्रचण्ड, माधव, झलनाथ र वामदेव जस्ता सिद्धान्तका सौदागरहरुलाई कार्यकर्ताको अदालत र जनताको अदालतबाट दण्डित गराउने हिम्मत पनि ओलीसँगै छ । राजाबाट लात खाने कांग्रेस एमालेको साथ पाएपछि नै २०४६ सालमा विरालोबाट बाघ र डोरीबाट साप बन्न सकेको थियो ।

लामो समयसम्म कांग्रेसको सामन्तवादले वामपन्थी, एमाले र ओलीपको सहयोग र उपकारलाई धन्यवाद भन्न समेत नमानेर संकीर्णता देखायो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला एमालेको टेकोमा प्रधाननन्त्री भए तर पदमा बहाल रहेको बेला यी तिनै नेताले वामपन्थीको दैलोमा पाउकष्ट गर्न उचित ठानेनन । २०७४ सालदेखि उछालिएको ओलीलहरले चमत्कार गरेको छ । सहयोगको याचनासहित नेताहरु वामपन्थीको दैलोमा निहुरने युग आएको छ । माधव र भलनाथ खनाल जस्ता कमजोर नेता रहेको बेला प्रधानमन्त्री बहाल रहेका कांग्रेस सभापतिले एमाले नेताको गृहप्रवेश गरेर कद घटाउन चाहेनन वा त्यस्तो आवश्यकता नै परेन ।

गत हप्ता प्रधानमन्त्री शेरबहादुर देउवाको ओली निवास बालकोट प्रवेश एक युगान्तकारी घटना हो । २०४६ सालदेखि लोकतन्त्रको लागि सहकार्यमा रहे पनि कांग्रेसको सामन्तवादले वामपन्थीहरुलाई मान्छे मान्न, इज्जत गर्न र समान हैसियत दिन मानिरहेको थिएन । जनताप्रतिको ओलीतपका अगाडि कांग्रेस गलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बालकोट प्रवेश देशको मियोको भूमिका कांग्रेसबाट एमालेमा सरेको सच्चाईको पुनर्पुष्टि हो ।

महान दिल र दण्डनीतिमा निपूर्णता
आज ओलीप्रेरित नेकपा (एमाले) कतिका लागि भरलाग्दो छ, कतिका लागि रहरलाग्दो छ र कतिपयका लागि डरलाग्दो पनि छ । आफूसँग भएको महान दिलले र दण्डनीतिमा निपूर्णताले गर्दा एमाले यस हैसियतमा पुगेको हो । राजा, कांग्रेस र माओवादी तीनै शक्तिको उत्कर्षकाल र विजय उन्माद एमालेले झेलेको हो र टक्कर लिँदै आएको हो । जोरिपारी तह लगाउने एमालेसँग आफ्नै प्रकारको कला र काइदा छ । त्यो हो जनताको काखमा रहेर जनताको साथ लिने कला र काइदा । जोरिपारीलाई नमिठोसँग पराजयको स्वाद चखाएको गौरवमय विरासत छ एमालेसँग । देशका लागि चाहिएको विशाल दिल छ एमालेसँग । मुलुकलाई व्यापक रक्तपात, चरम आर्थिक संकट र अबिकासबाट जोगाउन एमालेले शान्तिपूर्ण प्रतिष्पर्धाको बाटो लिएको छ ।

यही जनताको बहुदलीय जनवादी नीति र निष्ठा नै एमालेको विशाल छात्ती हो । जनताले जहाँ राख्छन त्यहीँ रहने र नाइनास्ती नगर्ने समपर्ण नै एमाले जनताको रोजाईमा पर्नुको आधार हो । विगत तीन दशक यताको इतिहासको ऐना हेर्दा प्रष्ट हुन्छ, ‘एमाले उठ्दा गरिबसम्म छाना पुग्छ, नाना पुग्छ, माना पुग्छ र चिसो चुलोमा आगो बल्छ । एमाले घेरिदा देश र जनताको भाग्यरेखामाथि ग्रहण लाग्छ । बैरीहरुबाट एमाले सेरिदा देशको लय र गति रोकिन्छ । यसरी एमाले जित्दा जनता जित्छन र एमाले हार्दा देश हार्छ ।’

गृहनिमार्णको दौरानमा राजा, कांग्रेस र माओवादीसँग सहकार्यको हात एमालेले मिलाएकै हो । सबै शक्तिले एमालेबाट सहयोग लिए तर पालोको पैँचो तिर्नुपर्ने बेला बेइमानीको बाटो रोजे । जनताको हित, इमानको राजनीति र देश र जनताको लागि उद्यमशीलतामा होइन, जालझेलमै आफ्नो कल्याण देख्ने विनाशकाले विपरीत बुद्धिकाहरु एक्ला आऊन कि गठबन्धन गरेर आऊन एमाले युगदेखि युगसम्मका शून्य वा शुन्यहरुको खात देखेर भागेको छैन । जहिले पनि कांग्रेस र माओवादीले सहकार्य र संझौताबाट भागेर पहिला विग्रहको बाटो रोज्नुको मूल कारण एमालेले बोकेका विराट सम्भावनाहरु देखेर अत्तालिनु नै हो । एमालेका योजना, सपना र चाहनाहरुमा देशको सुन्दर भविष्यको भ्रूण छ ।

एमालेविरुद्धको घेराबन्दीको सुन्दर बहानामा नेपालको सुन्दर भविष्यमाथि बञ्चरो चलाउने देशी विदेशी षडयन्त्रको मोहोरा बन्नुको मूल्य एमालेका सबैखाले जोरिपारीहरुका लागि निकै परेको छ । राजतन्त्रको अन्त्य मूलतः एमालेको नौ महिने शासन कालमा एमालेको पक्षमा आएको जनउभारदेखिको जलनले गर्दा भयो । एमालेबिरुद्ध राप्रपा, कांग्रेस, र सदभावना राकस गठबन्धन कसियो । यतिले नपुगेर कांग्रेस, माओवादी र दिल्लीसम्म तन्काइयो ।

राजनीतिक स्थिरता, बिकास र समृद्धिको महायज्ञ एमाले, कांग्रेस र माओवादीको सहकार्यमा संभव थियो । एमालेको ऊर्जा र औकातदेखि जलेर कांग्रेस र माओवादीले पनि एमालेविरुद्ध निषेधको नीति लिए र एमालेसँग सन्धि गर्नु पर्ने बेला विग्रहको नीति अवलम्बन गरे । आज कांग्रेस र माओवादीले जुन असामान्य संकट र जीवन रक्षाको कष्ट उठाउनु परेको छ, उनीहरुको यस महाविपदको मुहान एमालेप्रतिको उनीहरुको कुदृष्टि नै हो । एमालेसँगको मित्रलाभबाट उठेका यी दुबै शक्तिलाई आज एमालेको महान दिलप्रतिको ईश्र्या निकै भारी परेको छ ।

एमालेको काँध र साथ पाउदा गिरिजाप्रसाद कोइराला, प्रचण्ड र सुशील कोइरालाको शान, सौकत र रोब विश्वसमुदायका लागि समेत लोभ गर्न लायकको थियो । आज देशी विदेशी शक्तिले कृतिम श्वास दिए पनि एमालेसँगको मित्रद्रोहका कारण कांग्रेस र माओवादी दुवै ओरालो यात्रा बेहोर्न बाध्य छन । ओरालो यात्राको गति र गुण यति क्रुर, भयावह र पतनको मुखमा पुगाउने खालको छ कि जसको चाल पाएर कुनै बेलाका एकअर्काका ज्यानी दुष्मन देउवा र दाहाललाई जिग्री बन्न लाजशरम लागेको छैन ।
एमाले दिलको मुहान
एमाले दिलको मुहान मदन र मनमोहन जस्ता निष्कपट राजनेताहरुको व्यक्तित्व र नेतृत्वबाट सुरु हुन्छ । त्यसको निरन्तरता राजनेता ओलीको दीर्घराजनीतिक साधना हो । जननेता मदन भण्डारीभित्र सदगुणहरुको खानी थियो । कम्युनिष्ट पार्टीको महासचिव हुन सपथ खाएको पार्टी फोडने लहर चलेको बेला मदन मालेको एक नम्बर बरियताको नेताबाट एकीकृत पार्टीको दुई नम्बर बरियताको नेता बन्न तयार नभएको भए माले र माक्र्सवादी एकता भई एमाले बन्न संभव थिएन । मदनको त्यागले गर्दा नै कम्युनिष्ट आन्दोलनको फुट र विभाजनले भरिएको अध्याय समाप्त भयो र एकता र एकीकरणको नयाँ युग आयो । मनमोहन अधिकारीमा मान र अपमानको वास्ता नगर्ने देवगुण थियो । देवमुर्तिलाई मानिसले फूल चढाउँछm, ढोग्छ, पुज्छ तर कुकुरले गएर पिशाब फेर्छ ।

मदनबाट सम्मान पाएपछि घिरौंला जत्रो नाक गर्ने र माधवबाट अपमान भएपछि कोकोहोलो मच्चाउने नगरी शालीनताको प्रतिमुर्तिका रुपमा रहेकाले मनमोहन सबै एमालेजनको श्रद्धाको पात्र बन्नुभयो । आफ्नै उपप्रधानमन्त्री माधवले माले कार्ड प्रयोग गरी रक्षा र परराष्ट्र मन्त्रालय गठ्याएर बिना मन्त्रालयको प्रधानमन्त्रीमा सीमित पार्दा पनि मनमोहनले फोहर चलाउने गल्ती गरेको देखिएन । एमाले र माओवादी एकतापछि प्रचण्डबाट पनि मदन जस्तै अरुको टहल गर्ने र मनमोहनले जस्तै मान र अपमानबाट माथि उठेर धैर्यको आड लिने अपेक्षा नगरिएको होइन । गल्ती प्रचण्डको मात्र होइन रहेछ, गल्ती त टिनको खानीमा चाँदीको अपेक्षा गर्नेको पनि थियो ।

वीपी, मदन र मनमोहनको राजनीतिक साधनाको चुरो देशका लागि काँध थाप्ने असल मान्छेहरुको शिविरका रुपमा एक भरपर्दाे राष्ट्रिय स्तरको पार्टी निर्माण थियो । बीपी र मनमोहन भन्दा पनि अघि बढेर मदनको इमान्दार प्रयास देशका चुनौतीहरु चिर्न सक्ने पार्टी निमार्णमा केन्द्रित थियो । चिन्तन, संगठन, आचरण र जनसमर्थनमा सन्तुलन भएको पार्टी मात्र जनताको पार्टी बन्न सक्छ र जनताको रोजाईमा पर्न सक्छ । आन्दोलन हाँक्ने क्षमताका हिसाबले, जनपरिचालनका हिसाबले, जनताको सुखदुःखको साथी बन्ने क्षमताका हिसाबले, संगठन र जनतासँगको सम्बन्धका हिसावले, विचार र व्यवहारको सन्तुलनका हिसावले, वाकपटुता र प्रचारयुद्धका हिसाबले पार्टी सक्षम र भरपर्दाे रहनु पर्छ । पार्टी असल र योग्य नेता र कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्नुपर्छ । पार्टीका नेता र कार्यकर्ताहरु जनताको परीक्षणका विषय हुनुपर्छ ।

मदनले अघिसारेका जनताको पार्टी निर्माण गर्ने आधारभूत मान्यताहरु यस्ता थिए । मान्छेको मूल्याङकन उसले दिने धम्की, उसले पार्ने क्षति, उसले ल्याउने गडबडीको आधारमा होइन उसको निष्ठा, सक्रियता र क्षमताको आधारमा गर्ने भएकाले मदनकालीन एमाले राम्रो लयमा थियो । सहकर्मीको टहल र देश र जनताको पक्षमा निरन्तर राजनीति पहल मदनको व्यक्तित्वको सबैभन्दा बलियो पक्ष थियो । आफ्नो निम्ति अतिरिक्त चाह नहुनु, सत्पात्रलाई चिन्न र थाम्न सक्नु, निजी स्वार्थको लामो सूची भएका खलपात्रलाई चिन्न र डाम्न सक्नुको सन्तुलनमा रहेर मदनले एमालेलाई बलियो जगमा उभ्याएकाले एमाले सिध्याउने भित्री र बाहिरी उपद्रव र प्रपञ्चहरु विफल हुँदै आएका छन ।

आजको एमाले लोकतान्त्रीकरणको क्रान्तिकारी धार हो । एमाले एक जीवनशैली हो, सदाचार हो, संस्कार हो, जनताको विश्वासको बैंक हो, जनताको एकता र शक्तिको पावर हाउस हो, नेपाली जातिको चेतनाको कहिलै ननिभ्ने अखण्डज्योति हो, जोश र होस तथा विवेक र हिम्मतको संघम हो र जनताको धाप, छाप र आशिर्वाद हो । एमालेको नसा नसामा मदनको त्याग र दूरदर्शिताको रगत बग्ने गर्छ । एमालेका प्रत्येक श्वासमा जनतालाई भगवान ठान्ने मदन भण्डारीको आवाज छ । एमालेका हरेक धड्कनमा मदनका सुझबुझ र बहुदलीय जनवादी मनमुटुले काम गरेको हुन्छ ।

आफ्नो छात्तीमा हलो जोतर चिरा पार्ने मानिसलाई धरती माताले अन्न दिन्छन । रुखले आफूलाई झटारोले हान्नेलाई फल दिन्छ । कुनै बेला एमाले फोरर हिड्ने सीपी मैनाली र वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने एमाले पनि धरती हो । काम नपाएर शत्रु खोज्दै हिड्ने फुर्सद एमालेसँग छैन तर देश र जनताको हित र स्वाभिमानसँग संझौता नगरेकाले एमालेलाई जोरीपारीको कमी छैन । नेपालमा नेपाली जनता नै सबथोक हुन भनेकै कारण एमालेविरुद्ध अप्राकृतिक तरिकाले सत्तारुढ गठबन्धनको रचना गरिएको छ । एमालेलाई हजार बार हार र मार स्वीकार्य छ तर मातृभूमिको चीरहरण र लिम्पियाधुरामाथिको अतिक्रमण स्विकार्य छैन ।

देउवा र दाहालको लक्ष्य र उद्देश्य बीपी, मनमोहन र मदनको भन्दा भिन्नै छ । उहिले तुलसी गिरी र सूर्यबहादुर थापाले जनादेशविरुद्ध राजा र सेना प्रयोग गरेर राजनीतिक र स्वरोजगार सुजना गरे । अहिले शेरबहादुर देउवा र प्रचण्ड पनि तुल्सी गिरी पथमा छन । जनादेशविरुद्ध परमादेशको प्रयोग सत्र साल काण्डको नयाँ संस्करण हो ।
एमालेले पाएको सौभाग्य
भनिन्छ– राजनीतिक शक्तिले चुनौती पाउनु उसको सौभाग्य हो भने चुनौतीको सामना गर्न नसक्नु उसको पतनशीलता हो । निरंकूशताको चरमचुलीमा पुगेको राजतन्त्र र पञ्चायती व्यवस्था, विजय उन्मादले मात्तिएका कांग्रेस र माओवादी एकपछि अर्काे गरी चुनौतीका रुपमा पाउनु नै एमालेको अटल सौभाग्यको आधार हो । अझ पछिल्ला दशकमा पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय समस्याको खानी बन्नु र ऐन मौकामा कांग्रेस सुडेनी लागेपछि एमालेको महानायकीय भूमिकामा निखार आउने मौका जुरेको छ । गएका तीन दशकमा एमालेले एकै प्रचण्डका अनेक कदकाँटीहरुको सामना गर्नुपर्यो ।

एक सानो वाम घटकका नेता प्रचण्ड, जनयुद्धका नायक प्रचण्ड, शान्ति प्रक्रियाका एक हिस्सा प्रचण्ड, एमाले र कांग्रेसलाई चुनावी संग्राममा पछार्ने सफलता पाएका प्रचण्ड, प्रधानमन्त्रीमा बहाल रहेको बेला सत्ता कब्जा गर्न र अधिनायकवादी शासक बन्न जिउज्यान फालेर लागेका प्रचण्ड, एमालेभित्रै माधव, झलनाथ र वामदेवलाई शिखण्डीका रुपमा उपयोग गर्ने प्रचण्ड, २०७० सालको संविधानसभा चुनाव र २०७४ सालको स्थानीय चुनावमा पुर्नमुसी भएका प्रचण्ड, एमालेविरुद्धका सारा फण्डाले सिप नचलेपछि एमालेबाटै उद्धारको याचनासहित सहकार्य र तालमेलको भिख माग्न आइपुगेका प्रचण्ड, एमाले स्कुलिङमा ढालिदै गरेका प्रचण्ड, माधव–वामदेवको साथ पाएपछि एमालेको भण्डार फोर्न तम्सिएका प्रचण्ड, एमाले हडप्न नपाएपछि कांग्रेसको निःशुल्क नोकर लागेका प्रचण्ड, कम्फरटेबल ऋचा पढ्न र हरहर मोदी गर्न विवश प्रचण्ड, लोकलाजले थलिएर आत्महत्या जस्तो कायरतालाई सैद्धान्तिक जलप दिने प्रचण्ड, आफै मर्छाै जोइ ल्याई के गर्छाै शैलीमा कांग्रेसका लागि एमालेको जनमत प्रभावित पार्न सक्रिय प्रचण्ड, विशेष गरी सफलतामा मात्तिएर कुम हल्लाउदै बोल्ने र प्रतिकूलता सदावहार रुन्चे स्वरमा एमालेलाई सराप्ने प्रचण्ड झेलेको छ । एमालेले यी सबै रुपरंगका प्रचण्डको सामना, व्यवस्थापन, रुपान्तरण, प्रशिक्षण, सहकार्य, साझेदारी, धोकाघडी, उदय, उत्कर्ष र पतनका चरणहरु देखेको छ, भोगेको छ र पार गरेको छ ।
प्रचण्डको स्वभाव र महत्वाकांक्षा
‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मती
घोच्ने ती गली काँढा पहिले नै छन तिखा कति ?”
कवि शिरोमणि लेखनाथ पौडेलको यो नीतिश्लोक प्रचण्डको नेपाली राजनीतिमा आगमन, उत्कर्ष र ओरालो यात्रातिर लक्षित गरेर रचिएको थिएन तर भएको छ त्यस्तै । प्रचण्डको फण्डाको शिकार सुरुमै औंलो समाएर राजनीतिको कखरा सिकाउने जीवन गुरुहरु भए । मोहनबिक्रमम सिंह, निर्मल लामा, मोहन वैद्य, निरञ्जन गोबिन्द बैद्यहरु प्रचण्डबाट सुरुवातीकालमै चपाइएका अनुहारहरु हुन् । सहकर्मीहरु सिध्याउने प्रचण्डनीतिको मूल चरित्र भैँसीको मासु सिँङको अचानो गरी काम फत्ते गर्ने रह्यो । बादलबिरुद्ध बाबुराम, बाबुरामविरुद्ध नारायणकाजी, कृष्णबहादुर महराबिरुद्ध वर्षमान, वर्षमानविरुद्ध जनाद्र्धनको प्रयोग सिलसिला अझै जारी छ । सरफको विज्ञापनमा झै प्रचण्डले डुबाएका, निचारेका र सुकाएका असफल राजनीतिज्ञको बिस्कुन छ ।
सुखमा मात्तिने र दुःखमा आत्तिने
महानायकीय धर्म होइन । भागेका राजा, थाकेका गिरिजा, ब्यारेक पसेको सेना, चुनाव हारेका एमाले र कांग्रेस, प्रधानमन्त्री पदको लाटरी प्रचण्डको जीवनको उत्कर्षको घडी थियो । कांग्रेस र एमालेको एकअर्काप्रतिको गलत चुनावी रणनीतिले गर्दा माओवादीले पहिलो संविधान सभा चुनावमा शिविरमा रहेका लडाकुहरु र वाईसीएलको प्रयोग गर्न पाएको थियो । विजय उन्मादका कारण प्रचण्डलाई उक्त सफलता चार दिनको चाँदनी हो भन्ने सत्यको गहिराई थाह भएन । नोयडामा बसेर नेपालमा नरसंहार मचाएको भएपनि एमाले र कांग्रेसले दया गरेर प्रचण्डको सुरक्षित अवतरण गराएका थिए । उत्कर्षकालमा प्रचण्डको गिरिजाप्रसाद र माधवप्रतिको व्यवहार वृहस्पति आदि सम्मानित ब्राह्मणहरुलाई डोले बनाएर अपमान गर्न पछि नपर्ने नहुशको जस्तो रह्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ । एमाले र कांग्रेस त सदाका लागि सकिए नै, राष्ट्रिय सेना पनि ध्वस्त किन नपारीहालौं भन्ने बढ्ता चलाकी र चौचौ नै प्रचण्डको पतनको मोटो कारण बन्यो । सेनापति काण्डले प्रचण्डको उत्कर्षको हलुवामा बालुवामा पार्योा ।

काचो अन्न र जिउँदो मान्छे आज नभए पनि भोलि चाहिन्छ भन्ने सत्यलाई कुल्चिएर शान्ति प्रक्रियामा आइसक्दा पनि एमालेको कत्लेआममा उत्रिएका प्रचण्डका लागि अन्तिम उद्धारकर्र्ता एमाले नै भयो । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा ओरालो लागेका मृग बनेका प्रचण्ड २०७४ सालको चुनावमा जनदण्डको भागेदार भई रुझेको बिरालो जस्तो बनेपछि एमालेसँग टाँसिन आइपुगे । आफ्नो बुत्ताले नभ्याउने भएपछि नै प्रचण्डले एमालेलाई तालमेल र सहकार्यका लागि गुहार मागेका थिए । जब एमालेको साथले पुनर्जीवन पाए औकात भुलेर आलु खाएर पेडाको धाक लगाइरहे ।

एउटा व्यक्ति असल हुनुको लाभ पनि पृथ्वीले उठाउँछ र व्यक्ति खराव हुनुको मार पनि यही पृथ्वीले भोग्नु पर्ने हुन्छ । रावण खराव हुनुको मूल्य लंकाले चुक्ता गरेको छ । रामायण रचनाको प्रयोजन यही छ । दुर्योधन असल भएको भए महाभारत मच्चिने थिएन । महाभारतले यही भन्छ । पछिल्ला दशकमा प्रचण्ड राष्ट्रिय समस्या नभैदिएको भए नेपालको विकास र समृद्धिको महाअभियानले अवरोध झेल्नु पर्नै थिएन । जीवनगुरु विरुद्धका हर्कत, यानप्रसाद गौतमको सफाया, बाबुराम दम्पतीको सफायाको प्रयास, जीपीदेखि केपीसम्मलाई काखमै रहेर रोपेको छुराले प्रचण्डलाई एक सदावहार उद्दण्ड मान्छेका रुपमा पुष्टि गरेको छ ।

जुन पार्टीको छाता ओढ्यो त्यसैमा भ्वाङ पार्नु, चुला खाएर धुरीमा डिठ पार्नु र गाँस दिनु र बास नदिनु खराब चरित्रको पाहुनाले झै संगत गरेका जतिलाई वाक्कदिक्क पार्नु प्रचण्डको जीवनलिलाको मेरुदण्ड बनेको छ । उत्कर्षको बेला असहिष्णु हुनु र प्रतिकूलतामा आत्महत्या जस्तो कायरतालाई सैद्धान्तिक जलप लगाउने धृष्टता गर्नु असामान्य विचलन हो । आफै मर्छाै जोई ल्याई के गर्छाै । आफै निराशहतास प्रचण्डको नेतृत्व क्षमतामाथि त्यसरी प्रश्न खडा भएको छ, जसरी एक रतन्धो लागेको भेडो बथानको अगुवाई गर्न बर्जित रहने गर्दछ ।
निष्कर्ष
आफ्नो छात्तीमा हलो जोतर चिरा पार्ने मानिसलाई धरती माताले अन्न दिन्छन । रुखले आफूलाई झटारोले हान्नेलाई फल दिन्छ । कुनै बेला एमाले फोरर हिड्ने सीपी मैनाली र वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने एमाले पनि धरती हो । काम नपाएर शत्रु खोज्दै हिड्ने फुर्सद एमालेसँग छैन तर देश र जनताको हित र स्वाभिमानसँग संझौता नगरेकाले एमालेलाई जोरीपारीको कमी छैन । नेपालमा नेपाली जनता नै सबथोक हुन भनेकै कारण एमालेविरुद्ध अप्राकृतिक तरिकाले सत्तारुढ गठबन्धनको रचना गरिएको छ । एमालेलाई हजार बार हार र मार स्वीकार्य छ तर मातृभूमिको चीरहरण र लिम्पियाधुरामाथिको अतिक्रमण स्विकार्य छैन । देशभक्तको साधना देशभक्ति हो, विजय र पराजय होइन । सत्यको सहारा जनता जनाद्र्धन छन । कुन्ती मोक्तानको यो गीतले देश र जनताप्रतिको ओलीप्रेरित एमालेको साधना, उपासना र जागरणको आन्दोलन नेपाल र नेपाली जाति रहेसम्म जारी रहने छ र सुखी नेपाली र समृद्ध नेपालको महाअभियान अघि बढिरहने छ ः–
‘कति जल्छौ आरिसले, अझै जल्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।
काँडेतारको बार लाएनि, मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न ।
कति गर्छाै उपहास, अझै गर्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।
तिल जत्रो कुरोलाई, पहाड जत्रै बनाऊ
झुटको खेती सप्य्रो भने दिपावली मनाऊ ।
कति काट्छौ कुराहरु । अझै काट्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।’