जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलबार १९:३२

एमसीसी पारित भएपछि माओवादीमा चर्कियो बिवाद, प्रचण्डलाई नारायणकाजीले फर्काए कठोर जवाफ


काठमाडौं, फागुन १७ । गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ । पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गर्नुभएको छ ।

भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गर्नुभएको थियो । श्रेष्ठले भने सोमबारको प्रचण्डको अभिव्यक्तिले आफूलाई झस्काएको बताउनु भएको छ । सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भन्नुभएको थियो, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन भन्ने ठान्नुभएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराउनु भएको थियो । ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ’ उहाँले भन्नुभएको थियो । प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता नारायणकाजी श्रेष्ठले पूर्वएकता केन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ ।

‘अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ,’ श्रेष्ठ निकट एक नेताले भन्नुभयो । तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताउनु भयो । यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।