जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार १२:०१

धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा


धनगढी, १९ फागुन । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताउनुभयो ।

उहाँले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताउनुभयो । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवासुविधा नलग्ने घोषणा पनि गर्नुभएको छ । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलाग्ने बताउनुभएको उहाँले मेयरका लागि दिइने अन्य सुविधा पनि नलाग्ने बताउनुभयो ।

उहाँले मेयर भएर एक रुपैयाँ पनि नलाग्ने आफू नेपालकै पहिलो जनप्रतिनिधि हुनेसमेत बताउनुभयो । ‘मलाई कुनै प्रलोभन छैन,’ उहाँले भन्नुभयो, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो, त्यसका लागि जनताले एकपटक मौका दिने छन् भन्ने अपेक्षा गर्दछु ।’ उहाँले धनगढीको मेयरमा आफू अन्तिमपटक लड्नेसमेत दाबी गर्नुभएको छ । २०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।

तर उहाँ नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित हुनुभएको थियो । मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याउनुभएको थियो । चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिनुभएको छ ।