जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार १६:०९

एमाले महासचिव शंकर पोखरेलको उदघोष : प्रचण्ड-माधव सत्ताका लागि जो पनि गर्छन भन्ने प्रमाणित भयो


कैलाली, फागुन १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको ठोकुवा गर्नुभएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनु भयो ।

‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ,’ एमाले महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’

उहाँले कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको तथ्य राख्नुभयो । ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए,’ महासचिव पोखरेलले भन्नुभयो ।

सभामुख अग्नि सापकोटा पदीय मर्यादाबिपरित राजनीतिक पूर्वाग्रही बनेको दृष्टान्त पनि राख्नुभयो । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ, टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ,’ पोखरेलको भनाई छ ।

एमालेसँग प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक गर्नुभएको छलफल बारे पनि महासचिव पोखरेलले प्रष्ट्याउनु भयो । ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो, त्यो जनताले देखिसकेका छन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो । अन्तिममा पारित गर्ने उहाँहरु नै हुनभयो ।’

पोखरेलले ‘नेकपाको अन्तरसंघर्षका मुद्दा निरर्थक थिए । कुण्ठा र सत्ता स्वार्थ थिए भन्ने पनि पुष्टि भएको बताउनु भयो ।