जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार १६:५९

माओवादी केन्द्र फुटको संघारमा : नारायणकाजी श्रेष्ठ पक्षधरको निष्कर्ष-प्रचण्डसँगै बस्नुको अर्थ छैन


काठमाडौं, १९ फागुन । महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएको छ । यो मतभेदले पार्टी नै विभाजनको संघारमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे,’ आइतबार संसद्बाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लेख्नुभएको थियो , ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ । प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बन्नुभएको छ ।

श्रेष्ठ रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मंगलबार उहाँलाई भेट्न उहाँको निवास हात्तीवन पुग्नुभएको थियो भने बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच पुनः भेटवार्ता भएको थियो । दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेको खुमलटार स्रोतले बतायो ।

जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको दबाब के हो ? भनेर प्रश्न गर्नुभएको स्रोतले भन्यो। जवाफमा प्रचण्डले अवेशमा आएर त्यसो भनेको जिकिर गर्नुभएको थियो । प्रचण्डसँग खटपट भएपछि पूर्व एकता केन्द्र पक्षधर नेताहरूले बुधबार र बिहीबार कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफल समेत गरेका छन् । उक्त छलफलले पनि प्रचण्डसँगको सहकार्य अव लगभग समाप्त भएको निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।