काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्धका बिगतमा लगाइएको मुद्दाहरु व्युँतिने अवस्था आएपछि आफैले राष्ट्रघाती भनेर किटान गरिएको एमसीसी संझौता अनुमोदन गर्न बाध्य हुनुपरेको प्रष्टिकरण दिनुभएको छ ।
महाधिवेशनको निर्णयलाई खारेज गरेर एकल रुपमा एमसीसी पारित गरेपछि प्रचण्डबिरुद्ध बरिष्ठ नेताहरु खुलेर मैदानमै उत्रिएपछि राष्ट्रियसभा गृहमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले यस्तो प्रष्टिकरण दिनुभएको हो ।
आफ्नो प्रष्टिकरण राख्नेक्रममा प्रचण्डले एमसीसी पारित गराउने एमसीसी अनुमोदन गरेर आफूले सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरु व्युँतिने अवस्थालाई अन्त्य गरेको जिकिर गर्नुभएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमलाई बताए । ‘अमेरिका धेरै शक्तिशाली राष्ट्र हो । अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन । यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो,’ ती केन्द्रीय सदस्यका अनुसार बैठकमा प्रचण्डको भनाई थियो ।
बैठकमा बिफ्रङको क्रममा प्रचण्डले एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने ठोकुवा पनि गर्नुभएको थियो । ‘मैमाथि १८–१९ मुद्दाहरु छन । अन्य कमरेडहरुविरुद्ध पनि मुद्दाहरु छन । एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो,’ प्रचण्डको भनाई उधृत गर्दै अर्का नेताले जनताटाइम्ससँग भने ।













प्रतिक्रिया दिनुहोस्