ओलीको सरकार रहदासम्म यी मुखुण्डोधारीहरूको ढडियामा खुब माछा परेको थियो । विदेशी रम खादै दैनिक उफ्रिने कार्यक्रम पहिलानै फिक्स हुन्थ्यो । लाग्छ उनीहरू अहिले सदनबाट पास भएको त्यही पारदर्शी लगौटीको टालो खोसेर आफ्नो अनुहार छोप्तै छन् । तर, मलाई लाग्छ यो लगौटी काण्डपछि लाजनै लजाएर भागेपछि अब कोही नलजाए हुन्छ
गोबिन्द पोखरेल
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाका विषयमा गठबन्धन सरकार बनिसकेपछि ‘एमसीसी यही गठबन्धन सरकारले पास गर्छ’ भन्नुभएको थियो । उहाँले गठबन्धनका नेताहरू सरकार छाड्नु नपर्ने र गठबन्धन नटुट्ने बचन काङ्ग्रेसले दिए जस्तोसुकै सर्त स्वीकार गर्न तयार हुन्छन । उनीहरूलाई थाहा छ, यदि गठबन्धन टुट्यो भने आफ्नो अस्तित्व समाप्त हुन्छ भन्ने कुरा । राष्ट्रवादी भई टोपल्न बाहिर विरोध र भित्र एमसीसीको समर्थन यिनीहरूले गरिरहेका छन पनि ओलीले भन्नुभएको थियो ।
वास्तवमा द्वैध चरित्र निर्वाह गर्न र छिनछिनमा आफ्ना भनाइ फेर्नसक्ने खुवी भएका गठबन्धनका नेताहरूको सटिक विश्लेषण ओलीले गर्नुभएको रहेछ । राजनेता ओलीको उक्त भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूरा गरेर प्रमाणित गरिदिनु भयो । यता कांग्रेस महामन्त्री गगन थापाले लगभग एक महिना अघि एमसीसीका वारेमा गठबन्धनका नेताहरूले सकस भोगिरहेको अनुभव गर्नु भएछ । दाहाल र नेपालको त्यो सकस हटाउने अचुक औषधी महामन्त्री थापाले त्यसैबेला आविष्कार गर्नुभएको हो ।
सदनबाट पास गर्नु पर्ने त्यो औषधीको नाम थापाले एमसीसी सम्बन्धी पुरक प्रस्ताव भनेर राख्नुभएको थियो । हुनत माओवादी अध्यक्ष दाहालले एमसीसी पास गर्नु भन्दा अघिल्लो दिन आफ्नो दिमागमा व्याख्यात्मक विश्लेषणले क्लिक गर्यो भन्नुभयो तर त्यो झुठ हो । एक महिना अघि छापिएका पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा महामन्त्री थापालाई क्लिक गरेको एमसीसी सम्बन्धी उक्त पुरक प्रस्तावका वारेमा लेखिएको छ ।
हुनत थापाले भनेको नाम न्वारानमा राखिएन तथापि यसको आविष्कारक भने कांग्रेस महामन्त्री थापा नै हो । अहिले पनि त्यो पारदर्शी लगौटीको न्वारानको खास नाम के हो ? धेरैलाई थाह छैन र यो पङतिकारलाई पनि थाहा छैन । धेरैले यसलाई व्याख्यात्मक टिप्पणी भनेका छन्, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र काङ्ग्रेस नेता डा. मिनेन्द्र रिजालले सदनको रोष्टममै उभिएर एमसीसीको ब्याख्यात्मक टिप्पणी माआवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपालको लागि बनाइ दिएको लाज ढाक्ने पारदर्शी लगौटी भन्नुभयो । यता दाहाल र नेपाल गठबन्धन निरन्तर राख्ने व्याख्यात्मक घोषणा भनेर कार्यकर्तालाई भ्रममा राख्दै हुनुहुन्छ । यिनै कारणले गर्दा यसको खास नाम थाहा हुन नसकेको हो ।
जे होस् नेपालमा अमेरिकी अनुदान सहायता ( एमसीसी ) ले खैलाबैला मच्चायो । केही समय जनतालाई एमसीसीले पक्ष र विपक्षमा विभाजित गरिदियो । केही शीर्ष नेताहरूले यसलाई नेपाल राष्ट्र नै निल्ने भयङ्कर डरलाग्दो राक्षसका रुपमा परिभाषित गरे र आफ्ना कार्यकर्तालाई सडकमा उतारे । नेताप्रति आँखा चिम्लिएर विश्वास गर्ने कार्यकर्ता सडकमा ओर्लिएर प्रहरी र निर्जीव वस्तुमाथि अभद्र रुपमा जाइलागे । बाहिर तोडफोड र भित्र संसदमा पक्ष विपक्षमा चर्काचर्की चल्दै थियो । नेकपा एमाले भने आफ्नो पुरानै अडानमा अडिग रहेर सदनमा नारा लगाइरहेको थियो ।
वास्तवमा दाहाल र नेपालले जसरी पनि एमसीसी पास गर्छन भन्ने प्रायः सबै नेपालीलाई थाहा थियो । सायद सडकको नाटकमा उग्रसँग भाग लिनेहरूलाई पनि थाहा थियो । तर, उनीहरू आफ्ना नेताको निर्देशन मान्न अभिसप्त थिए । जब एमसीसीको विरोधमा आवाजहरू उठ्न थाले तब एकजना पत्रकारले पहिला नै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल मिलेर एमसीसी पास गर्छन, एमालेको जरुरत पर्दैन भनेर एउटा लेख लेखेका थिए । वास्तवमा ती पत्रकारले जे व्याख्या विश्लेषण गरेका थिए, दाहाल र नेपालले ती सबै क्रियाकर्म पुरा गरेर एमसीसी पास गर्नुभयो ।
अहिले नेपालको सदनबाट पास भएको एमसीसीलाई एमसीसी कार्यालयले धन्यवादसहित स्वीकार गरिसकेको छ भने पारदर्शी लगौटी (व्याख्यात्मक घोषणा) को कही कतै कुरोकन्थो समेत गरेको छैन । एमसीसी कार्यालयले त्यो हाम्रो सदनबाट पास भएको पारदर्शी लगौटीलाई कुनै महत्व दिइरहनु पर्ने आवश्यकता नै ठानेन । यसो हुनु पनि स्वभाविकै थियो किनभने एमसीसीको सम्झौतामै कुनै पनि पुरक विषय मान्य हुने छैन भनेर लेखिएको छ । अब सोच्नुपर्छ नेपालमा आफ्ना कार्यकर्ता र सिमित जनतालाई केही समय भ्रममा राख्न हाम्रो पारदर्शी लगौटी काम लाग्यो अमेरिकातिर काम लागेन भनेर ।
अमेरिकी राजदूतले हाम्रा गृहमन्त्रीसँगको भेटमा भन्नुभयो, ‘सदनबाट एमसीसी पास भएकोमा धन्यवाद ।’ तर उहाँले व्याख्यात्मक घोषणाका वारेमा भने एमसीसी सम्झौतामै भएको र हामीले भन्दै आएको विषय परेको सफाचट कुरा गरिदिनु भयो । राजदूत महोदयले भन्ने पनि त्यति नै हो । किनभने एमसीसी मुख्यालयले नै पारदर्शी लगौटीका बारे केही नबोलेपछि राजदूत बोल्ने ठाउँ थिएन । तर, एमसीसीको बारेमा अझै पनि जनता स्पष्ट हुन सकेका भने छैनन् । कतिपयको मनमा यो सहयोग अमेरिकी सैन्य योजना अन्तर्गतको होझ भन्ने छ भने कतिपयको मनमा यो नितान्त सहायता सहयोग हो भन्ने छ । सर्वसाधारणको मन पनि नेताहरूले विभाजित गरिदिएका छन् ।
कोही व्यक्ति एमसीसी पास हुनासाथ आउने भनिएको अमेरिकी सेनाको प्रतिक्षामा छन् भने कोही दाहाल र नेपालले फैलाएको कपोलकल्पित हल्लाको रुपमा बुझिरहेका छन । यता माआवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल भने आफ्ना कार्यकर्तालाई भ्रममा राख्दै गठबन्धन जोगाउन सफल भएकोमा दङ्दास हुनुहुन्छ । १५ गते बेलुकासम्म राष्ट्रघाती करार गर्दै एमसीसीको विरुद्धमा घोक्रो फुट्ने गरी नारा लगाउदै तोडफोडमा लागेका कार्यकर्ता भने आफ्ना नेताहरूले पहिरिएको पारदर्शी लगौटी हेर्दै लज्जित हुनुपरेको छ, । जसले जे व्याख्या गरे पनि १५ गते दिउसोसम्म माआवादी र समाजवादीका अगाडि नेपाल भन्ने राष्ट्र निल्न भयङ्कर डर लाग्दो रुप धारण गरेर उभिएको एमसीसी साँझपख नेपालका लागि अत्यन्तै हितकर भएर प्रकट भएको छ ।
माधव र प्रचण्ड दुवै नेताको १४ गतेको भनाइ र १६ साथै १७ गतेको पत्रकार सम्मेलनको अभिव्यक्तिले यही प्रष्ट पारेको छ । एमसीसीसँगै सदनबाट पास भएको पुरक प्रस्ताव उर्फ भ्रमित मखुण्डो उर्फ व्याख्यात्मक टिप्पणी उर्फ व्याख्यात्मक घोषणा उर्फ पारदर्शी लगौटीप्रति एमसीसी कार्यालयले कुनै प्रतिक्रिया नजनाउनु हाम्रा नेताको लाज छोपिएको रुपमा हामीले बुझ्नु पर्ने भएको छ । हामी एकपक्षीय ढंगले द्विपक्षीय सम्झौतालाई पहिलो पक्षलाई सोध्दै नसोधी अर्कै रुप दिन सक्छौं भने मन मनमा बुझ्न कसले रोक्न सक्छ र ! तसर्थ पारदर्शी लगौटीले हाम्रा दुवै नेताको लाज गजबले छोपिएको छ भनेर हामी मख्ख हुनैपर्छ ।
लाज पनि लजाउने पारदर्शी लगौटी काण्ड लजाउदै हेर्ने हामीले उहाँहरूलाई देखेर अब लजाउनु हुँदैन । लगौटी काण्ड सदनबाट पास हुनु भन्दा केही मिनेट अघिसम्म सामाजिक सञ्जालमा राष्ट्रघाती एमसीसी खारेज गर भनेर लेख्ने कार्यकर्ता र एमसीसी विरोधीलाई महान राष्ट्रवादीको संज्ञा दिदै आफ्नै विचार पस्कने पत्रकार मित्रहरूलाई अहिले अलि गाह्रो परेको हुनसक्छ । तर, गाह्रो मान्नु भन्दा पहिला आफूद्वारा आफ्नै नेताको प्रसंसामा लेखिएका सामाग्री पढदै मेटाउदै गर्दा राम्रो हुन्छ । तपाईंकै नेतालाई गाह्रो भएन र लजाएनन भने तपाईंले किन अप्ठ्यारो मान्ने ? पारदर्शी लगौटी काण्डपछि सबैभन्दा अप्ठ्यारो अवस्थामा मानव अधिकारवादी, सामाजिक अभियन्ता र नागरिक अगुवा बनेर हिडेका मुखुण्डोधारीहरू परेका छन ।
आलीको सरकार रहदासम्म यी मुखुण्डोधारीहरूको ढडियामा खुब माछा परेको थियो । विदेशी रम खादै दैनिक उफ्रिने कार्यक्रम पहिलानै फिक्स हुन्थ्यो । लाग्छ उनीहरू अहिले सदनबाट पास भएको त्यही पारदर्शी लगौटीको टालो खोसेर आफ्नो अनुहार छोप्तै छन् । तर, मलाई लाग्छ यो लगौटी काण्डपछि लाजनै लजाएर भागेपछि अब कोही नलजाए हुन्छ । कुनै पनि सम्झौता दुई वा त्यो भन्दा बढी पक्ष विचमा हुन्छ । त्यहाँ दुवै पक्षले हस्ताक्षर गरेर सम्झौताको एक एकप्रति राख्ने चलन छ । यदि सम्झौतामा कुनै बुंदा थप्न वा हटाउनु परेमा दुवै पक्षको मञ्जुरी हुनुपर्छ भनेर त्यही सम्झौतामा लेखिएको हुन्छ । यो कुरा सर्वसाधारण जनतालाई पनि थाहा छ ।
तर, यता हाम्राहरूले आफ्नै लाज छोप्न किन नहोस् एकतर्फी रुपमा एमसीसी सम्झौता सच्याएको घोषणा गरिदिए । र, भनिदिए– संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख छ । कस्तो गजबको कुरा नेताहरूले जे गरे पनि, जे बोले पनि, जे भने पनि पत्याई दिनुपर्ने ? डा. बाबुराम भट्टराईको शब्द सापट लिएर भन्नु पर्दा हाम्रा दुई नेता प्रचण्ड र माधवलाई एमसीसीले नराम्रोसँग नङग्याएकै हो । पारदर्शी लगौटी प्रकरणपछि माओवादी र समाजवादीबाट कतिपय नेता साथै कार्यकर्ता पलायन भए र हुदैछन् । उनीहरूले आफ्नै नेताको नाङ्गोपन हेर्न नसकेर पार्टीबाट राजिनामा दिएको बताइरहेका छन । यसले के पुष्टि गर्छ भने उहाँहरूको कुरा कसैले पनि पत्याएनन । यदि बेलैमा एमसीसी पास गरेको भए सरकारमा लिसो जस्तै भएर टाँसिन र गठबन्धनलाई जोगाउनकै लागि मात्र जनता साथै कार्यकर्ता सामु यति भद्दा नाटक गर्नुपर्ने नै थिएन ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्दैमा दाहाल र नेपालका मनमा कस्तरी ड्याङ्ग्रो ठोक्यो भन्ने पनि जनताले थाहा पाए । ओलीलाई देख्नसाथ उहाँहरूको सातो जान्छ र देउवाले कोलाकोला सातो आइज भन्नु पर्ने अवस्था देखियो । तर, विडम्बना यस्तो चर्तिकला गरेर जोगाएको गठबन्धन पनि चुनावमा काम लाग्ने खालको भएन । काङ्ग्रेसी नेताहरूले गठबन्धन सत्ता सञ्चालनका लागि मात्र हो चुनावका लागि होइन भनी सक्नुभयो । यो त काङग्रेसले नेकपा समाजवादी र माओवादीलाई पुर्न खाडल खने जस्तै भयो । र, अन्त्यमा – वास्तवमा एमसीसी यी दुई नेताले भने जस्तो छैन र हुदा पनि होइन ।
यो केवल आफ्ना कार्यकर्ताका अगाडि क्रान्तिकारी बन्न र सस्तो लोकप्रियताका लागि गरिएको नाटक मात्र थियो । यो सबै क्रियाकर्म राजनैतिक रुपमा फाइदा लिदै चुनावमा भोट बढाउने उदेश्यसाथ गरिएको थियो । तर, उहाँहरूका लागि यो क्रियाकर्म अनुकुल होइन, प्रतिकुल हुन पुग्यो । राजनीतिक फाइदा होइन उहाँहरू माथि वेफाइदाको पहाड खस्यो । पत्रकार सम्मेलनमा दुवै नेताले सरकार र गठबन्धन जोगाएर ओलीलाई असफल बनाएको त भन्नुभयो तर आफूहरू बर्वाद भएको पत्तै पाउनु भएन । सम्झनु होस त नेपाली काङग्रेसले चुनावी गठबन्धन गरेन भने हविगत के हुन्छ ? कमरेडहरू ! सदनबाट पारितपारदर्शी लगौटीले तपाईंहरूको लाज छोपेन बरु उदांङ्गो बनायो ।













प्रतिक्रिया दिनुहोस्