काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । बैठकका ६ वटा एजेण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन थियो । माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो ।
तर, पटक–पटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकमा पनि पदाधिकारी चयन भने टरेको छ । पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय थाती राख्ने नेता देव गुरुङले जानकारी दिनुभयो । ‘अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ । चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ’, गुरुङले भन्नुभयो ।
एमसीसीको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष पुगेको बताइएको छ । एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको हो । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्