जनता टाइम्स

२२ असार २०७६, आईतवार १८:३२

प्रधानमन्त्री र सरकारबिरुद्ध यति धेरै प्रहार किन ?


माटो सम्झनुहोस, स्वार्थ त्याग्नोस, स्थायित्व सम्भव छ, विकास सम्भव छ । हाम्रो प्यारो मातृभूमिको मुहार कसैले फेर्छ भने नेकपाकै नेतृत्वको सरकारले फेर्छ । अहिले अनावश्यक कुरा निकालेर अस्थिरता सृजना नगरिदिनुस । केपी कमरेडलाइ मन फुकाएर काम गर्न दिनुस । आफ्नालाई होइन, राम्रालाई ठाउँ दिनुस । यो सरकार असफल हुने भनेको पश्चिम बंगाल हुने हो, विन्ती छ, नेता कमरेडहरु, त्यता नलाग्नुस । अन्यथा न रहे बाँस न बजे बाँसुरी हुने छ । यो मेरो मनको भाव अक्षरमा उतारेको हो । कमरेडहरु अन्यथा नलिनोस

नेत्रप्रसाद नेपाल

दुई विशाल ठुला पार्टी बिघटन गरेर एउटै मात्र ठुलो भिमकाय पार्टी बनेको छ नेकपा । यो भिमकाय नेकपा अहिले छिटोछिटो हिंडन नसक्ने अवस्थामा पुगेको छ । किन ? के कारणले ? तल विस्तारपुर्वक लेख्ने जमर्को गरेको छु । हिजो नेकपा एमाले र माओवादी हुँदा जुन सांगठानिक स्थिति थियो, आज त्यो दुई पार्टी एक हुँदा हराएको छ । एमाले र माओवादी एक्ला एक्लैले हजारौं जनता सडकमा उतार्न सक्थ्यो । अहिले त्यो सकिएको छ । कार्यकर्तामा जुन लय र संगठनप्रतिको निष्ठा, सक्रियता, त्याग र समर्पण थियो, त्यो पनि सकिएको छ । मानौं अहिले ती कार्यकर्ता स्वासप्रश्वास विनाका मुढामा परिणत भएका छन । कार्यकर्ता पार्टीको होइन, विचारको होइन, नेताहरूको गोजीको भएका छन ।

कार्यकर्तालाई अनुशासनहीन हुन उक्साइएको हो या छाडा छोडिएको हो ? जथाभावी मनलाग्दी शत्रु जस्तो गरेर अपशब्द लेख्ने, गाली गर्ने काममा प्रयोग भएका छन । कुनै कार्बाही कसैलाई कहिल्यै नहुनु भनेको अराजकतातिर पार्टी जानथालेको संकेत हो । अहिले कुनैपनि नेताले कार्यकर्ताहरुलाई पार्टीको विचारको पछि लाग्न व्यक्तिको पछि नलाग्न भन्दैनन । कसैले योजना लग्यो, मैले मेरो पहलमा, मेरो कारणले भन्छ । पार्टीको आदेशमा, पार्टीले गरेको भन्न चाहँदैन । कार्यकर्ताहरु पनि तिनै नेताको कारणले योजना आएको, फलानो नेताले पारेको भन्न र बहस गर्न उद्वत छन । अर्थात पार्टीको नाम लिन कोही केन्द्रीय नेता, कोही प्रदेश र जिल्लाका नेता तयार छैनन । अहिले हाम्रो हराएर म र मेरो हावी भएको छ । पार्टीलाई निजीकरण गरिएको छ अर्थात मवादमा घचेटिएको छ ।

हिजोका वैचारिक हिसावले तिखारिएका लडाकु जनवादी केन्द्रीयता मान्ने, अनुशासनमा बस्ने, अनुशासनको पालना गर्ने पार्टीको जस्तोसुकै आदेश पालना गर्ने÷गराउने, संगठनप्रति प्रतिवबद्व संगठन विस्तार गर्ने निजि सम्पत्तिको लोभलालच नभएको कार्यकर्ता बाध्यताले दुलाभित्र लुकेर बाहिरको तमासा नियाल्न बाध्य छन । ती अहिले संगठनमा त छन् तर नेताहरूको वरिपरि घुम्ने घर, चौको चुल्हो चहार्ने गणेश प्रवृत्ति भएका गफाडीहरुको विचौलियाहरुको विचारसून्य बनेर माफिया, कालोबजारिया, तस्करी र गुण्डागर्दी गर्नेहरुको नियन्त्रणमा पारिएका छन् । अहिले नेताहरु लोभलालची भाईभतिजावाद, आफन्तवाद, निर्वाचन क्षेत्रवादी भएको प्रष्ट जनताको लेवलमा देखिन्छ । ल्याइते कार्यकर्ता पाल्न, गुण्डा पाल्न र गणेश प्रवृत्ति पाल्न योजना हालिदिनु पर्ने बाध्यात्मक परिस्थितिमा ती नेताहरु पुगेका छन । गुण्डा पाल्न, उनीहरुलाई आफ्नो बनाइराख्न पनि ठेक्कापट्टा मिलाइ दिनुपर्ने, योजना हालिदिनु पर्ने र उपभोक्ता समितिमा उनीहरुलाई जिम्मा लगाउनु पर्ने बाध्यतामा नेताहरु छन् ।

अनि हामीले कस्तो विकास खोजेका हौं ? यो तरिकाले विकास सम्भव छ त ? कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कमाउनिष्ट बनाउन किन केका लागि उद्वत छन नेता गणहरु ? अहिले कार्यकर्तादेखि जनतासम्म पार्टीमा किन लाग्ने ? नपाउने हो भने भनेर खुलेआम भन्छन् । कतिलाई हेर्न पनि घिन लाग्ने भएको छ । अहिले हाम्रा दुई पार्टी एकीकरण भएको १४ महिना पुगेको छ । १४ महिनसम्म तल्लो कमिटीसम्म एकता टुङ्गो लाग्न सकेको छैन । पार्टीमा भागवण्डा मेरो र मवादले एकीकरणमा अवरोध गरिरहेको छ । भित्र दुई नम्बरी गर्नेहरु बाहिर आदर्शका कुरा गर्दै असली विचारक भएका छन । पार्टीको कारणले पटकपटक बिभिन्न जिम्मेवारी पाएकाहरु पार्टी र त्यसको नेतृत्वलाई खुइल्याउन दिलो ज्यानले लागेका छन । जिम्मेवारी नपाएका पुराना असलहरु समेतमाथि भनिएका नवागंतुकहरुको कारण विच्किएर भड्किन थालेका या अब पुरै निरास भएर बसेका छन ।

यत्रो ठुलो पार्टीहरु मिलेर बनेको भिमकाय विशाल पार्टीका इमानदार कार्यकर्ता किन के कति कारणले निराश छन ? पार्टीलाई पर्दा यी सबै जुरुक्क उठ्नु पर्ने होइन र ? दुई तिहाइ बहुमत हासिल कम्युनिस्ट पार्टी यतिबिघ्न थिलथिलो भएको, उठ्न नसकेको वा नदिएको किन ? के कारणले हो ? यसको कारण किन खोजिँदैन ? कहिलेसम्म पार्टीलाई यो हालतमा राख्ने ? नेतृत्व हस्तान्तरण गर्ने बेला कहिले आउँछ ? एउटा नेता कहिसम्म पार्टीको नेता अनि सांसद पनि भई रहने ? यसो मैले भन्न मिल्थ्यो या मिल्दैन थियो ? थाहा छैन तर पार्टीमा अहिले गोरु चुटेर हलो अड्काउने काम किन ? के कति कारणले भइरहेको छ ? जनता र कार्यकर्ताले बुझ्न नसकेको कुरा हो यो । सरकार कमजोर बनाउने खेल पनि नेकपाबाटै चलिरहेको जस्तो देखिन्छ । एउटै डुङ्गामा सवार यात्रु डुङ्गा पल्टिँदा त सबै नै मारिन सक्छन नि होइन र ? नेकपामा अहिले जनवाद हराएको छ, अन्तराष्ट्रिय गीत हरायो, जनसम्पर्क करिबकरिब हराउँदै छ । नेता नेतामा इगोको राजनीति चलेको छ, कार्यकर्ता आपसमै हिलो छ्यापाछ्याप गरिरहेछन । सामाजिक सञ्जालमा नेकपाका नेता कार्यकर्ता धेरैजसो सरकारविरुद्ध खनिएका छन मानौं यो सरकार जनविरोधी हो भन्ने भान पार्न खोजे जस्तो लाग्छ ।

आरोप-प्रत्यारोप छरपस्ट छ, नीति कार्यक्रम केही नभएको जस्तो नेतृत्वसून्य, अस्ताउन लागेको सूर्य जस्तो बनाईँदै छ नेकपालाई । किन यस्तो भइरहेको छ त ? के कारणले भएको हो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति, सरकारप्रति किन यतिविघ्न प्रहार ? यही रवैया भएको भए मनमोहन अधिकारी नेतृत्वको सरकार पनि राम्रोमा नगनिने रहेछ । यो बेमेल, यो प्रधानमन्त्री खेदने चालचलन अन्त गर्न पर्दैन त ? नेता–नेतामा र कार्यकर्ता–कार्यकर्ताहामी सबै देश बनाउन हिँडेका हौं नि होइन त ? बोलचाल बन्द किन ? केपी ओलीविरुद्ध किन यसरी न्वारानदेखिको बल लगाएर जनमत सृजना गराइरहेको हो ? यसको नियति के हो ? भोलि पार्टीका अरु नेता प्रधानमन्त्री हुँदा केपी समर्थकले यो भन्दा चर्को विरोध गरे भने हालत के हुन्छ ? सत्ता र शक्ति हुँदाहुँदै संसारका ठुलाबडा राजाहरुको समर्थन हुँदाहुँदै पनि महाभारत युद्धमा कौरव किन हारे ? विदुर जस्ता महान त्रिकालदर्शी सल्लाहकार हुँदाहुँदै युद्ध हार्नु चानचुने होइन । दुई तिहाइको सरकार राम्रो काम गरेर वाईवाही कमाउन पर्ने यो समय किन केपी विरुद्ध मोर्चाबन्दी भइरहेको छ ? राम्रोसँग मिलेर काम नगर्ने हो भने यस्तो बहुमत कता पुग्छ र नेपालमा कम्युनिस्ट थिए रे, दुई तिहाइ ल्याएका थिए रे, आफूआफू नै लडेर यदुवंशी मासिए जसरी मासिए रे भन्ने हुन नसक्ला भन्न के बेर ।

तसर्थ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र सल्लाहकारहरुका गलत सल्लाहको कारण समस्या पैदा भएको त छैन ? सोच्न पर्ने समय आउन लागेको हो कि ? यस्ता समस्या नेकपामा कति गन्न सकिने अवस्था नै छैन । अब समस्या छ भनेर अहिले जस्तो कोही चुपचाप, कोही आक्रामक भएर सरकारविरुद्ध भइरहेको हमला सहन गरेर बसिरहन मिल्छ ? पार्टीभित्रको समस्या समाधान गर्न सकिन्न त ? सकिन्छ । समाधान गर्न नसक्ने हो भने न रहे बाँस न बजे बाँसुरी हुनेछ । घरको दैला अगाडि सिस्नो घारी भए सरह हुनेछ पार्टी । दुई तिहाइको सरकार छ, काम गर्न थालिरहेको छ, गरिरहेको छ । काम के कति भए आँखा अगाडि छर्लङ्ग छ, देखिरहेका छन् तर यो यो काम भएको छ, अब यो यो काम हुनुपर्छ, यो काम गरेको भएन, सरकार यो बाटोबाट जानुपर्छ भन्ने कुरा कसैले भन्दैन । जम्मा भन्छ त यो सरकारले काम गरेन । यो भन्ने भनाउने सबै नेकपाका दुवै पूर्वपट्टीकाहरु हुन । यी सबैले भनेको सुनेर कांग्रेस पनि ब्युँझिएर त्यसै भन्न थाल्यो ।

कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउने काम नेकपाकै नेताहरुबाट भएको जस्तो लाग्छ । बल्लतल्ल बनेको कम्युनिस्ट सरकार मास्न, सक्न, समाप्त पार्न कोही उद्धत छ भने नेकपाकै दुर्योधन, धृतराष्ट्र अनि सकुनीहरु लागेका छन । त्यस्ता प्रबृत्ति बोक्ने नेकपाकै नेताहरु, कार्यकर्ताहरु छन । ठाउँ कुठाउँ सामाजिक सञ्जालको दुरुपयोग गर्ने, ओली देख्नै नहुने, सुन्नै नहुने गरी तथानाम लेख्ने काममा विपक्षी भन्दा बढी नेकपाकै नेतृत्व तहका मानिस, उहाँहरुका निजी मानिस, प्रयोग भएका छन । त्यो देखिने र सुनिने गरि भएको छ । वरिष्ठतमहरु रेडियो, टिभी, पत्रपत्रिकामा अन्तर्वार्ता दिँदा सरकारको आलोचना गर्न, प्रधानमन्त्रीको विरोध गर्न केन्द्रित हुनुले नेकपाले पार्टीको मुल्य मान्यता समाप्त पार्न लागेको जस्तो देखिन्छ । मतलब अब नेकपाले सरकार बनाउने यत्ति हो, यो पाँच बर्षमा पालैपालो खान पर्यो भन्ने मान्यताले काम गरेजस्तो देखिन्छ । ओली आफैमा साहस र आँट भएका मान्छे हुन । उहाँको कारणले नै यो बहुमत आएको हो भन्ने सत्य स्विकार्न नसक्नु र पीडावोध हुनु समस्याको चुरो कारण हो ।

आफ्नो पालामा केही नहुनुले कतिपय नेतामा व्यक्तिगत कुण्ठा, पीडा पनि भएको छ । कतिलाई म मात्रै नेता हो, मन्त्री म मात्रै, अझ सँधै हुन पाउनुपर्छ भन्ने लागेको सत्य देखिएकै छ । कतिलाई हारको पीडा छ, यो सबैको निशाना काम गर्दागर्दै पनि केपी ओली भएका छन । केपी कमरेडमा पनि धेरैको कुरा सुन्ने, समस्या आए छलफल गर्ने, तुरुन्तै समाधान निकाल्ने तरिका वा शैली नभएको हो या सल्लाहकारहरु अक्षम परेर सल्लाह गतिलो नदिएका हुन ? के हो बुझ्न सकिएन । पार्टी केन्द्रीय तहमा एकीकरण भए पनि गाउँ पालिकातहसम्म एकिकरण नहुनु र पार्टी कार्यालय पेरिसडाँडा र धुम्बाराही, अनी संसदीय दलको कार्यालय अझै पनि दुई ठाउँमा हुनुले दुई पार्टीको भावना जागृत गराईरहेको छ । यो भावनात्मक एकताको लागि अर्को समस्या हो । भातृसंगठनको एकता एकीकरण भएको कमिटीले पुर्णता नपाउनु, पार्टीको एकीकरण सम्पन्न भएका कमिटीको बैठक नहुनु पनि समस्या नै हो । जे होस समस्या सबैतिर छ, तर यहाँ चाँहि नेताहरुमै कम्युनिस्ट पार्टीको अनुशासन भएन । त्यसैले समस्या देखिएको हो । नेकपाभित्र अहिले देखिएको मुल समस्याहरुलाई वुँदागत रुपमा यसरी देखाउन सकिन्छ ।

१. पार्टीमा विधि, पद्धति स्थापना नहुनु ।

२. समानवयका नेताहरु भएको कारणले एकले अर्काको अस्तित्व स्विकार्न गाह्रो भएको ।

३. चरम गुटबन्दी हुनु । पार्टीभित्रका आफ्नालाई शत्रु देख्नु र शत्रुमार्कालाई मित्र देख्न थाल्नु ।

४. नेतृत्वमा रहेकाले कार्यकर्ता पार्टीको होइन, गोजीको बनाउनु । सैद्धान्तिक होइन, मुस्तण्ड बनाउनु र तिनको भजन सुन्ने र ती भजनमण्डलीको कुरा सुनेर धारणा बनाउनु ।

५.सरकारको शक्तिशाली पदमा म मात्रै जान पाए हुन्थ्यो भन्ने सोच्ने र शक्तिको लागि झुन्ड बनाउने र बजारमा गीत गाउन लगाउने ।

६. केपी ओली असफल बनाउन तानाबाना बुन्ने, प्रचारप्रसार गराउने केपी नै नेपाल र नेपालीको शत्रु हुन भन्ने ढङ्गले विभिन्न माध्यम प्रयोग गरी सरकारको वदनाम गराउन कोशिस गर्ने काममा गिरोह बनाइ प्रयोग गर्ने काम ।

७. नेताहरुमा मन्त्रीपद मैले मात्रै पाउनुपर्छ भन्ने भावना विकास हुनु । म कतिपटक भएँ, म अब कतिपटक हुने, म पछि अरु म सरहका नेताहरु पनि छन है भन्ने बिर्सने वा पदलोलुप भावना चरम हुनु ।

८. नेताहरुमा हाम्रो हराएर मेरो भावना विकास हुनु । सबै मेरा नातागोता, भाइभतिजाले पाउनुपर्छ भन्ने भावना विकास भइ खट्ने इमानदार कार्यकर्तामा निरासा उत्पन्न गराउने काम हुनु ।

९. निजी सम्पत्तिमा जोड दिनु । जसका लागि तस्कर, माफिया, दलाल जस्तोसुकै मानिसलाई पार्टीमा प्रवेश दिनु र फाइदा लिनु ।

१०. कम्युनिस्ट आचरण, नैतिक मुल्यमान्यतामा बिर्सनु ।

११. सबैभन्दा ठुलो महारोग जसरी पनि सत्ता र शक्तिमा ध्यान जानु । जनता र आम कार्यकर्तासँग टाढिनु ।

१२. विभिन्न स्वार्थ समुहको टकराव र ती समुहका मानिसको घेराबन्दीमा नेताहरू पर्नु ।

१३. सरकारले काम गरेपनि प्रभावकारी काम नदेखिनु, जसको कारणले कम्युनिस्ट विरोधी तत्वहरुले कम्युनिस्टले काम गर्न नसकेको प्रचारप्रसार गर्न सफल हुनु ।

१४. कर्मचारीतन्त्रलाई सही ढङ्गले उपयोग गर्न नसक्नु वा कर्मचारीबाट सरकारलाई असहयोग हुनु ।

१५.पार्टी नेताहरु पार्टी कार्यकर्ताहरु गोलबद्व नहुनु वा एकताबद्ध बनाउन नसक्नु, बन्न नदिनु जसका कारण सरकारविरोधी सबै हौसिनु ।

१६. केपी ओलीलाई शत्रुको रुपमा हेर्नु सरकारमा छँदा समर्थन बाहिरिएपछि विरोध गर्ने, परम्पराको सुरुआत हुनु, केपी कमरेडले पार्टी नेतृत्व गर्दा पार्टी ठुलो हुनु, उहाँको नेतृत्व सफल हुनुले पनि व्यक्तिगत ईस्र्या पलाउँदा पार्टी विशाल बनाउने नेतृत्व र एकीकरणको नेतृत्व गर्दा समेत उहाँको भुमिकालाई ओझेलमा पार्ने गरी पार्टी पक्तिबाटै नकारात्मक प्रचारप्रसार हुनु ।

१७. पार्टीभित्रका अष्टबक्रहरुलाई तह लगाउन नसक्नु । अष्टबक्र भनेको आठ ठाउँमा शरिर भाँचिनु वा दोब्रिनु भन्ने हुन्छ । आफ्नो निजी स्वार्थका लागि जता पनि ढल्कन सक्ने व्यक्ति भन्ने बुझाउँछ ।

१८. सत्रौं नम्बरमा उल्लेख भएको आचरण भएका मानिसहरु प्रधानमन्त्री वरपर झुम्मिएर विभिन्न ठाउँमा नियुक्ति पाउन सफल हुनु, तर प्रधानमन्त्रीविरुद्ध भयानक षड्यन्त्र भैरहँदा ती आफ्नो दुनो सोझिएपछि प्रधानमन्त्रीको पक्षमा बोल्न, विरोधीलाई चुनौती दिनुको साटो दुला पस्नु, नबोल्नु । १९. संसदीय समितिलाई पार्टीको संसदीय दलले नियन्त्रणमा राख्न नसक्नु, अर्थात दुई पूर्वहरुका पुरानै बानी बेहोरा कायमै रहनु अत्यन्त खतरनाक । माथि उल्लेख गरेबाहेक अनगिन्ती समस्या नेकपाभित्र छन । व्यक्तिपिच्छे समस्या छ । हेराइमा समस्या, गराइमा समस्या, बुझाइमा समस्या ।

समस्या समाधानका उपाय

अहिलेसम्म जे जति पार्टी विरोधी, सरकार विरोधी गतिविधि भए, गरियो, गराइयो, यो नेतृत्वमा बस्नेहरुको लज्जाको विषय हुनुपर्ने हो । तर पनि उल्टो आफू चाँहि सबैभन्दा जान्ने राष्ट्रवादी, असल देखिने गरी सार्वजनिक सञ्चार माध्यमबाट भनेको सुन्दा नेताहरुले केवल केपी ओलीविरुद्ध विषवमन गरेको मात्रै सुनिन्छ । घर भत्काउन, विगानर्, जोरीपारी हँसाउन यति काफी छ । सत्तारुढ दलका नेताहरु सरकारको विरोध गर्छन । हामीलाई त के मतलब भन्दै हिडेका छन । नेतृत्वमा रहनु हुनेहरुले अहिले केपी ओलीविरुद्ध सकेजति गर्दा भोलि अरु आउँदा उनले टुटुलु हेरेर बस्लान् ? बस्दैनन । सजिलो कसैलाई हुदैन, सरकार असफल बनाउने खेल खेल्नु भनेको नेपालबाट कम्युनिस्ट समाप्त पार्नु हो भन्ने बुझेकै छन होेला । आफै सक्किएर अरुको लागि पार्टी किन समाप्त पार्नुहुन्छ ? मिलेर हिड्नुस, काम राम्रोसँग गर्नुस, जनता खुसी पार्नुस, पालैपालो गरेर खान पाईन्छ ।

देशमा देखिएको लामो समयदेखि थाँती रहेको पञ्च र कांग्रेसका पालाका समस्यासमेत यही सरकारले निकालेको जस्तो गरी कांग्रेसलाई सहयोग पुग्ने खालका प्रचार नगर्न, नगराउन नेकपाका नेता कार्यकर्ताहरुलाई अन्तरपार्टी निर्देश सचिवालयले तुरुन्तै देओस । सचिवालय सदस्यले कहिँकतै पनि सरकारलाई गाली गर्न नपाउने निर्णय गर्नुस । सामुहिक निर्णय, सामुहिक जिम्मेवारी र जवाफदेहिता हुने निर्णय गर्नुस । यो नेकपाको लागि अन्तिम मौका हो, फेरि आउन नेकपाका नेताहरु कार्यकर्ताहरु सच्चिनै पर्छ । पार्टीको सचिवालयलाई सरकारको मुख्य सल्लाहकार बनाउने निर्णय गर्नुस । मन्त्रीहरूको कार्यक्षमता, कुशलता, पारदर्शिता हेरेर फेर्नपर्ने भए तुरुन्तै फेर्न, आफुसँग टिमस्प्रिट मिल्ने मन्त्रिमण्डल हुनुपर्छ । सचिवालयदेखि स्थायी कमिटीसम्मका नेताहरुलाई बोलीमा लगाम लगाउन जरुरी छ । जहाँ पायो त्यहीँ, जे पायो त्यही बर्बराउने रोगको निदान खोजिनु पर्छ । अनुशासनमा कडाइ गरिनुपर्छ, नेतृत्वप्रति सम्मान, जनताप्रति उत्तरदायी, कम्युनिस्ट आचरण देखाउन जरुरी छ ।

सम्पत्ति भन्दा धेरै टाढा, आफन्त भन्दा कार्यकर्ता नजिक, बनाउनु जरुरी छ । धेरै बर्ष कम्युनिस्ट सरकार नेपाली जनतालाई दिने हो भने समय सापेक्ष, जनभावना अनुसार पार्टी चल्नैपर्छ । सरकार पार्टीको निति नियम अनुसार चल्नुपर्छ । नेताहरुले मनलाग्दी खेल्ने जुहारी अन्त हुनुपर्छ । सरकारले गरेका राम्रो कामको प्रचारप्रसार गर्न नेतादेखि कार्यकर्ता लाग्नुपर्छ । नेता, कार्यकर्ताहरु उपभोक्ता समितिमा बस्ने, ठेक्कामा लाग्ने हो भने जनताले तिनलाई नगरेको भए पनि भ्रष्टाचारी भन्छन । जनप्रतिनिधि राजा जस्ता देखिन थालेका छन । उनीहरुलाई पार्टीले लगाम लगाउनु जरुरी छ । स्थानीय तहका जनप्रतिनिधिलाई नितिगत, सैद्धान्तिक, तालिम दिनुपर्छ । धेरै समय पार्टी र सत्ताको भोग गरिआएका बुढेसकालमा प्रवेश गरेका नेताहरुलाई विदा गर्ने व्यवस्था विधानमा नै मिलाउनु पर्छ । समग्रमा पार्टीभित्रको अराजकता, चरम गुटबन्दी अन्त्य जसरी पनि गरिनुपर्छ ।

अन्यथा जनताको मन, मष्तिष्क मर्छ, जनता अन्यत्र भड्किए भने कम्युनिस्ट सत्ता बाँदरको हातको नरिवल हुनसक्छ, बेलैमा सजग रहनुपर्छ । सबै नेताहरु जो प्रधानमन्त्री, मन्त्रीको लाईनमा छन, उनीहरु सबैले प्रधानमन्त्री र वर्तमान सरकारलाई सहयोग गर्न, परिमार्जन गर्न, र सरकारको कामको प्रचारप्रसार गर्न लाग्नुपर्छ । केपी ओलीको सरकारलाई असफल बनाउने, देखाउने कामबाट नेता, कार्यकर्ताहरु अलग रहनुपर्छ । सरकार असफल हुँदा सिंगो नेकपा असफल हुनेछ र बहुमतको सरकार हाम्रो कल्पना भन्दा धेरै परको कुरा हुनेछ । नेकपाका नेता कार्यकर्ता सबैलाई बेलैमा चेतना आवस ।

यी काम गर्नुपर्छ

१. सरकार सञ्चालन प्रधानमन्त्रीलाई छोडिदिनुपर्छ । मन्त्री छान्ने, हटाउने अधिकार पुर्णतः उहाँको नै हो भन्ने मान्यता स्थापित गरिनुपर्छ। सँगसँगै पार्टीसँग परामर्श गर्ने र पार्टीद्वारा प्रधानमन्त्री निर्देशित हुनुपर्छ ।

२. पार्टीको नेता हुँदा तहगत बढुवाको मापदण्ड बनाइनु पर्छ । हिजो प्रवेश, आज नेतृत्व सुविधा सबै नयाँलाई दिने चलन अन्त्य गरिनुपर्छ । कार्यकर्ताको कामको आधारमा मुल्यांकन गरिने परिपाटीको विकास गरिनुपर्छ । व्यावसायिक तालिम, राजनीतिक तालिम दिई उनीहरुलाई कामको व्यवस्थासहित लेवि लगाउने पनि उचित व्यवस्था हुनुपर्छ ।

३. सांसद कतिपटक उठ्न पाउने ? मन्त्री कतिपटक बन्न पाउने ? भन्ने पार्टी विधानमा नै किटान गरिनुपर्छ । प्रधानमन्त्री हुनसक्नेहरुलाई बेग्लै मापदण्ड बनाउने, जसले गर्दा सँधै एक जना हुने, बाँचुन्जेल चाहिने अहिलेसम्मकै परिपाटीको अन्त हुन गई पछाडिका नेता कार्यकर्ता सक्रिय रुपमा पार्टीको काम गर्ने अवस्था सृजना हुन जान्छ ।

४. पार्टी अनुशासनमा नेता कार्यकर्ता बाँधिने व्यवस्था गरी लागु गरिनुपर्छ । जसबाट अहिलेसम्मकै पार्टीभित्रको दुर्गन्ध समाप्त पार्न सकियोस ।

५. पार्टीका संगठित सदस्यहरुको आवज सुन्ने एउटा स्थायी संयन्त्र विधानमा नै व्यावस्था गरिनुपर्छ । जसबाट उनीहरुको मनका कुरा पीडा दुःख सुन्न र समस्या समाधान गर्न सकियोस । संगठित सदस्यहरुले बाहिर सामाजिक सञ्जालमा नेतृत्वकोविरुद्ध लेख्ने, गीिलग्लौज गर्ने, जथाभावी लेख्ने आफू सदस्य भएको पार्टीको वदनाम गराउन भुमिका खेल्ने गरेको भेटिएको खण्डमा पहिलोपटक सदस्यता निलम्बन गर्ने, अर्को पटक दोहोरिए निष्कासन गर्ने व्यवस्था गरिनुपर्छ ।

६. कार्यकर्ता नेतृत्वप्रति नेतृत्व जनता र कार्यकर्ताप्रति जवाफदेही हुने व्यवस्था हुनुपर्छ ।

७. कार्यकर्तालाई पार्टीप्रति वफादार बनाउने, नेतृत्वप्रति सम्मान गर्ने बनाउने र नेतृत्वले पनि कार्यकर्तालाई समदुरीको व्यवहार गर्ने ।

८. नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र मनमोहनपछि केपी ओली र प्रचण्डले दुई विशाल पार्टीको एकता गरी गर्नु भएको ऐतिहासिक कामको उच्च मुल्यांकन सबैले गर्ने, काममा कञ्जुस्याईँ नगर्ने, ओलीको आक्रामक नेतृत्वको कारण कम्युनिस्ट पार्टीको सरकार बन्न सकेको कुरा सबै तहका नेता कार्यकर्ताले सगर्व भन्ने वातावरण बनाउने ।

९. गुटबन्दी बन्द गर्ने, गराउने । जुन कार्यकर्ताले कुनै अमुक नेताहरुको पक्षमा वा विपक्षमा लेख्छ बोल्छ ती नेतासहित उक्त कार्यकर्तामाथि अनुशासनको दण्ड चलाउने ।

१०. केपी कमरेडको नेतृत्वमा रहेको सरकार पाँच बर्ष चल्न दिने, कसैले लोभलालचा नगर्ने बाचा कसम खाने, विदेशीको दलाल नबन्ने, नउचालिने काम नेताबाट हुनुपर्छ ।

११. पार्टीको विधिल विधान नियम, नियमावली, आचारसंहिता सबैले मान्ने, दायाँबायाँ नगर्ने नेतृत्वमा रहेकाले कसम खाने हो भने अहिलेको समस्या समाधान हुनसक्छ ।

१२. पार्टीको सचिवालयलाई नै सरकारको मुख्य सल्लाहकार बनाउने ब्यवस्था गर्ने ।

१३. पार्टी भत्रका विभिन्न स्वार्थ समुहहरुको वर्गीकरण गरी क्षणिक स्वार्थका लागि पार्टीमा लागेकाहरुलाई चिन्ने र उनीहरुलाई विस्तारै किनारा लगाउँदै जाने, स्वार्थमा लागेका तर पार्टीको पक्षमा पनि लाग्ने खालका पार्टीका नेता कार्यकर्ताहरुलाई परिमार्जन गर्ने, स्वार्थबाट मुक्त हुन आग्रह गर्ने ।

१४. पार्टीलाई शुद्धीकरण गर्ने, निर्मम ढङ्गले शुद्धीकरण गर्ने ।

किन यस्तो भइरहेको छ त ? के कारणले भएको हो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति, सरकारप्रति किन यतिविघ्न प्रहार ? यही रवैया भएको भए मनमोहन अधिकारी नेतृत्वको सरकार पनि राम्रोमा नगनिने रहेछ । यो बेमेल, यो प्रधानमन्त्री खेदने चालचलन अन्त गर्न पर्दैन त ? नेता–नेतामा र कार्यकर्ता–कार्यकर्ताहामी सबै देश बनाउन हिँडेका हौं नि होइन त ? बोलचाल बन्द किन ? केपी ओलीविरुद्ध किन यसरी न्वारानदेखिको बल लगाएर जनमत सृजना गराइरहेको हो ? यसको नियति के हो ?

आदारणीय एवं सम्माननिय नेतागणहरु आफु ‘राजा’ बन्न रामसंग मिलेर दाजुभाइ मार्न उद्वत हुने भिविषण जस्तो नबन्नुस । अनावश्यक युद्ध गरेर भएको वैभव मान मर्यादा, आफ्नो सन्तान, दाजुभाइ समाप्त पार्ने दुर्योधन जस्तो मति ननिकाल्नुस । तपाईं नेताहरु राम–लक्ष्मण र भरत जस्तो भाइहरु बन्नुस । मन मिलाउनुस, शहिदका सपना सम्झनुस, उनीहरुको रगत सम्झनुस, व्यक्तिगत स्वार्थ त्याग्नुहोस । भाई जुटे, शत्रु टुटे बनाउनोस, भाइ फुटे गवाँर लुटे नबनाउनोस । निजी स्वार्थका लागि जनतालाई निराश नबनाउनुस ।

माटो सम्झनुहोस, स्वार्थ त्याग्नोस, स्थायित्व सम्भव छ, विकास सम्भव छ । हाम्रो प्यारो मातृभूमिको मुहार कसैले फेर्छ भने नेकपाकै नेतृत्वको सरकारले फेर्छ । अहिले अनावश्यक कुरा निकालेर अस्थिरता सृजना नगरिदिनुस । केपी कमरेडलाइ मन फुकाएर काम गर्न दिनुस । आफ्नालाई होइन, राम्रालाई ठाउँ दिनुस । यो सरकार असफल हुने भनेको पश्चिम बंगाल हुने हो, विन्ती छ, नेता कमरेडहरु, त्यता नलाग्नुस । अन्यथा न रहे बाँस न बजे बाँसुरी हुने छ । यो मेरो मनको भाव अक्षरमा उतारेको हो । कमरेडहरु अन्यथा नलिनोस ।