जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार २३:२७

किन ‘सुटुक्क’ बझाङ पुग्यो भारतीय सवार हेलिकप्टर ?


कञ्चनपुर, २६ फागुन । बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ । कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो ।स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् ।

‘हामी कसैलाई हेलिकप्टर आउने जानकारी नै थिएन,’ थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले भन्नुभयो । उहाका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेका थिए । त्यसपछि आफूहरुले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरु उडेको उहाले बताउनुभयो। हेलिकप्टरमा चालकसहित पाँच जना भारतीय मूलका नागरिक रहेको उहाले जानकारी दिनुभयो ।

‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भन्नुभयो , ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए ।’ हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभाये । ‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि थिएन,’ उहाँले भन्नुभयो, ‘यस बारेमा हामी बुझ्दैछौँ ।’