काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाएको छ । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिने भएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो’, उहाँले भन्नुभयो ।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका थिए जसमा ऋषि कट्टेलको नेकपा बाहेकले मात्रै वैधानिकता पाएका छन् ।













प्रतिक्रिया दिनुहोस्