सिरहा, चैत २ । राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीका व्यक्ति जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा सुटुक बेचेको खुलेको छ ।
प्रहरीको सर्वाधिक खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका–७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह)ले जिल्ला सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा रजिष्ट्रेशन गरेर बेचेको खुलेको हो ।
पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वरप्रसाद साहलाई बिक्री गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।
सदरमुकामभित्रै रहेका मालपोत कार्यालयमा आएर भूमिगत गतिविधि गर्ने व्यक्तिले जग्गा पास गराएर फर्किंदा प्रशासनले सुइँकोसम्म नपाउनुले घटना रहस्यमय बनेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू यहाँ कार्यालय प्रमुख भएर आउनुभन्दा पहिला नै रजिष्ट्रेशन पास भएकोले त्यसबारे खासै जानकारी नरहेको बताउनु भयो ।
पासवानको जग्गा बिक्रीको विषयमा मालपोतका सूचना अधिकारी तथा नायव सुब्बा सुधीरकुमार यादव जग्गा रोका रहे नरहेकोबारेमा थाहा नभएको बताउनु भयो । ‘पासवान प्रहरीले खोजी गरिरहेका व्यक्ति हुन् भन्ने पनि आफूहरूलाई थाहा थिएन । यहाँ कति सेवाग्राही आउँछन्, जान्छन् । सबैको व्यक्तिगत विवरण हामीसँग हुँदैन । प्रक्रिया पुर्याएर आएकाले उहाँको जमिन पास भएको हो,’ यादवले भन्नुभयो, ‘जग्गाधनी दर्ता प्रमाणपूर्जा, सक्कल नागरिकता, सोही आवको तिरो तिरेको रसिद, घरबाटो प्रमाणित सिफारिस, बेच्ने र किन्ने दुवैले कारोबार गरेको स्वीकारेर भौतिक उपस्थितिमा सहीछाप गरे जग्गा रजिष्ट्रेशन हुन्छ । सयौं जनाको भिडमा काम गर्नुपर्ने भएकाले पासवान को हुन् चिन्ने कुरा भएन र रजिष्ट्रेशन भएको हो ।’
सूचना अधिकारी यादवले कागजातको आधारमा उनीहरू मालपोत कार्यालयमै उपस्थित भएर जग्गा पास गराएको जानकारी दिनुभयो । पासवानको नामबाट १४ जेठ २०७६ र ८ भदौ २०७५ मा दुई कित्ता जग्गा बिक्री गरेको खुलेपछि सिरहा प्रहरीले पत्राचार गरी रोक्का राखेको जग्गा कसरी बिक्री भयो भन्ने विषयमा अनुसन्धान थालिएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी डीएसपी सुवास बुढाथोकीले भूमिगत रहेका व्यक्तिको नाममा रोक्का रहेको जग्गा बिक्री भएको सूचना पाएपछि अनुसन्धान गरिरहेको बताउनु भयो । ‘प्रहरीले भूमिगत रहेर आपराधिक गतिविधिमा संलग्न पासवानको नाममा रहेको घर जग्गा रोक्का राख्न पहिले नै पत्राचार गरेको हो, कसरी जग्गा रजिष्ट्रेशन भयो, अनुसन्धान गर्दैछौं,’ डीएसपी बुढाथोकीले भन्नुभयो ।
‘दुई कित्ता जग्गा बिक्री गरेको र अझै उनको नाममा विभिन्न क्षेत्रफलको तीन कित्ता जमिन रहेको बुझिएको छ,’ उहाँले भन्नुभयो, ‘पहिले नै पत्राचार गरी रोक्का गर्न पत्र काटिएको हो । कसरी बिक्री भयो अनुसन्धान गर्दैछौँ र पुनः रोक्का गर्न पत्र काट्दै छौँ ।’
कुनै पनि फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीको जग्गा जमिन तथा बैंक खाता तथा सम्पत्ति रोक्का गर्न प्रहरीले मालपोत कार्यालय र राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘पासवानको हकमा पनि त्यही लागु हुनु पर्ने हो । तर, पत्राचार गर्दा पनि किन रोक्का भएन, कसरी, कसले जग्गा बिक्री गरे, को–को संलग्न छन् भन्ने पनि खोज्दैछौँ ।’
नागेन्द्र पासमानमाथि सिरहासहित विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम विस्फोट लगाएतको दर्जनौं मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्