जनता टाइम्स

२ चैत्र २०७८, बुधबार १९:५७

न्यायपालिकाबिरुद्ध सत्तारुढ गठबन्धनले गरेको षडयन्त्रको भण्डाफोरमा उत्रियो एमाले, यस्तो छ योजना


काठमाडौं, चैत २ । सत्ता गठबन्धनले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने काम गरेको भन्दै एमालेले त्यसको भण्डाफोर गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्य गर्दै आएको भन्दै त्यसको संवैधानिक तथा कानुनी प्रतिवाद गर्दै भण्डाफोर गर्ने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा दलका नेता केपी शर्मा ओलीले अदालतलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताउनु भएको छ । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन आएको ओलीको भनाई थियो । जुन कुरा संसद्को अधिवेशन अन्त्य गर्नुले पुष्टि गरेको उहाँले बताउनु भयो ।

दलको बैठकमा ओलीले यसको कडा रूपमा प्रतिवाद गर्न निर्देशन समेत दिनुभएको छ । सबै उपाय अपनाएर न्यायिक स्वतन्त्रता बचाउन एमाले तयार हुनुपर्नेमा उहाँको जोड थियो । अहिलेको गठबन्धनले अदालतलाई आफ्नो मतियार बनाउने संकेत देखिएको भन्दै त्यसका लागि सबैले जोडदार रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो ।

प्रमुख सचेतक भट्टराईका अनुसार आजको बैठकमा १०औं महाधिवेशनको समेत समीक्षा गरिएको छ। त्यस्तै आसन्न स्थानीय चुनाव केन्द्रित गतिविधिमा लाग्न समेत पार्टी अध्यक्षबाट निर्देशन भएको उहाँको भनाई छ । एमालेले निर्वाचनबारे निर्णय गर्न आगामी ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाइसकेको छ ।