बुटवल, चैत ३ । आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाले सबैको ध्यान तानेको छ । २२ वर्षदेखि उपमहानगरमा कब्जा जमाउँदै आएको एमालेका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ भने २०४९ सालको स्थानीय चुनावपछि लगातार पराजय व्यहोर्दै आएको कांग्रेस यसपालिको चुनावमा गुमेको साख फर्काउने दाउमा रहेको छ ।
लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये बुटवल उपमहानगरमा एमालेको संगठन धेरै बलियो मानिन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्नुहुन्छ, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’
एमाले ढुक्क देखिए पनि थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । एमालेबाट बाहिरिएर सत्ताका लागि गठन भएको एकीकृत समाजवादीका कारण पनि केही मत तलमाथि हुन सक्ने र कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना रहेकाले एमालेका लागि चुनौती देखिएको कतिपयको तर्क छ । उम्मेदवार छान्दा विचार पुगेन भने यसपालिको चुनाव एमालेका लागि फलदायी नहुन सक्छ भन्ने आम एमालेजनको बुझाइ छ ।
अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी हुनुभएको थियो । सुवेदीले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले पराजित गर्नुभएको हो । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमाले नेता पन्थीको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाको मेयरका लागि एमाले र कांग्रेसका गरेर १२ जनाले आकांक्षा देखाएका छन् । नगरप्रमुख सुवेदी आफैँ दोहोरिन चाहनुभएको छ । उपप्रमुख गुमादेवी आचार्यले पनि प्रमुखमा दावी गर्नुभएको छ । अघिल्लो चुनावमा दावेदार रहेका एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई र युवा नेता तथा प्रदेश कमिटी सदस्य गोपाल राना पनि मेयरका आकांक्षी हुनुहुन्छ ।
अन्य प्रतिस्पर्धीको तुलनामा यी दुई आंकांक्षी चुनाव जित्नका लागि बलिया उम्मेदवार मानिनुहुन्छ । भट्टराई बौद्धिक व्यक्तित्व भएको र सबै क्षेत्रसँग उनको सन्तुलित भूमिकाका कारण राम्रो प्रभाव देखिएको छ । आफूले टिकट पाए चुनाव जितेर देखाइदिने भट्टराई बताउनु हुन्छन् । राना भने जनजातिको मत तान्न सक्ने र युवामाझ लोकप्रिय छवि बनाएका कारण बलिया दावेदार मानिनु हुन्छ । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्यको भनाई छ ।
अघिल्लो पटक पार्टीका जिल्ला अध्यक्ष रहेका सुवेदीले टिकट पाएकाले यसपाली आफूलाई दिनुपर्ने माग एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि गर्नुभएको छ । ‘जिल्ला अध्यक्षलाई टिकट दिएर एउटा नजीर बसाल्ने हो भने भविष्यमा पनि सहज हुन्छ,’ केसीको तर्क छ । पार्टी जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक बाबुराम पन्थीले पनि मेयरका लागि आकांक्षा राख्नुभएको छ । विकासका लागि आफैँ फिल्डमा खटिएर काम गर्न सक्ने र मतदाताको मन सजिलै जित्न सक्ने उहाँको क्षमता पार्टीले बुझ्न नसकेको कतिपय नेता बताउँछन् ।
कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे नै उम्मेद्वार बन्ने सम्भावना बलियो छ । पाण्डे अहिले पार्टीको बुटवल नगर सभापति हुनुहुन्छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गर्नुभएको छ ।
त्यस्तै कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्छ । बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । एक्लाएक्लै भिडदा भने एमालेसँग प्रतिस्पर्धा नै नहुने अवस्था पनि रहेको छ ।













प्रतिक्रिया दिनुहोस्