जनता टाइम्स

५ चैत्र २०७८, शनिबार १४:०९

एमाले रामेछाप नगर कमिटीद्वारा वडाका नेतृत्वलाई चुनाव केन्द्रित प्रशिक्षण


रामेछाप, ५ चैत । नेकपा एमाले रामेछाप नगर कमिटीले नगरपालिका भित्रका सबै वडाका नेतृत्वलाई स्थानीय तहको निर्वाचन केन्द्रित प्रशिक्षण सुरु गरेको छ । एमाले रामेछाप नगरका चुनाव प्रचारप्रसार अभियानका संयोजक माधब ढकालका अनुसार वडा नेतृत्वलाई २ दिने आवासीय चुनाव केन्द्रित प्रशिण कार्यक्रम सुरु गरिएको हो ।

रामेछाप नगरपालिकाका ९ वटै वडाका अध्यक्षसहित पदाधिकारीहरु प्रशिक्षणमा सहभागी भएका छन् । आज एमाले रामेछापका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले प्रशिक्षण दिनुभएको छ । भोली एमाले केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज कैलाश प्रसाद ढुङ्गेलले प्रशिक्षण दिने संयोजक ढकालले जानकारी दिनुभयो ।

एमाले रामेछाप नगर कमिटीले स्थानीय निर्वाचन केन्द्रित भेला तथा अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले ‘म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका’ अभियान अन्तर्गत जिल्ला भरी नै अभिमुखीकरण, प्रशिक्षण तथा भेला गरिरहेको छ ।