काठमाडौं, चैत्र ५ । एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले परमादेशले खडा गरेको गठबन्धनलाई जनादेशबाट भष्म गरेरै छाडने उदघोष गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको तयारीको क्रममा नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सो कमिटीका इञ्चार्जसमेत रहनुभएका एमाले स्थायी कमिटी सदस्य पण्डितले यस्तो उदघोष गर्नुभएको हो ।
‘अहिले सरकारमा बसेकाहरु परमादेशको परिणाम हुन, जनादेशको होइन, आउँदो स्थानीय तहको चुनावबाटै परमादेशसीहरुलाई जनादेशाके झापट हान्नुपर्छ, परमादेशको शक्तिलाई जनादेशबाट भष्म गरेरै छाडनु पर्छ, यसैको तयारीमा एमाले रहेको छ,’ पण्डितले भन्नुभयो, ‘तपाईं–हामी सवै अतिथि बनेर होइन, उम्मेद्वार भन्दा बढी सक्रिय बनेर जनताको बीचमा चुनावताका एक महिना खटौं, हामीले यत्ति काम गर्न सक्यौं भने परमादेशलाई जनादेशबाट भष्म गरिन्छ ।’
पूर्वमन्त्री पण्डितले चुनाव नजिकिएसँगै बिगतमा पार्टीमा गद्धारी गरेर हिडेकाहरु एमालेसँगै हात जोडेर आउन थालेको भन्दै अव बिगतको जस्तो गल्ती नहुने प्रष्ट पार्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले लखेटे एमालेसँग सहकार्य गर्ने धम्की दिएकोप्रति संकेत गर्दै उहाँले अव कसैसँग एमालेले गठबन्धन नगर्ने बताउनु भयो । ‘गठबन्धनमा जानेहरु हिजो अपराध गर्यौं, माफी पाऊँ भनेर एमालेको नेतृत्व स्वीकार गरेर आए पार्टीमा स्वागत गर्छाैं, तर अव तालमेलको भूल एमालेबाट हुन्न, गद्धारहरुलाई जनताबीच नांगेझार पार्ने छौं,’ पण्डितको भनाई थियो ।
उहाँले प्रचण्ड र माधव नेपाललाई एमालेले क्षमा दिन नसक्ने तथ्य पनि सुनाउनु भयो । ‘भगौडा ( प्रचण्ड–माधव)हरुलाई अव बाइबाई भनौं, कांग्रेसको मामुली कार्यकर्ता भएर बोक्नेलाई अस्वीकार गरौं, एमालेको बिजय सुनिश्चित छ,’ पूर्वमन्त्री पण्डितको भनाई थियो । उहाँले सम्पर्क समन्वय कमिटीका नेता तथा कार्यकर्ताहरु चुनावमा आफ्नो भूगोलमा अनिवार्य खटिनै पर्ने निर्देशनसमेत दिनुभयो । ‘चुनावमा कम्तीमा १५ दिनदेखि एक महिना भुगोलमा खटिनै पर्छ, अतिथिका रुपमा जाने कुरा सैह्य हुँदैन, फिल्डमा खटिनै पर्छ, जित्ने र जिताउने शक्ति सम्पर्क मञ्च हो भनेर फेरि पनि प्रमाणित गर्नुपर्छ,’ इञ्चार्जसमेत रहनुभएका नेता पण्डितले भन्नुभयो ।
कार्यक्रममा सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले सम्पर्क मञ्च ७ सय ५३ ओटै पालिकामा एमालेका उम्मेद्वारलाई जिताउने अभियानमा होमिएको बताउनु भयो । उहाँले सम्पर्क मञ्चहरुमा रहेका नेताहरु जिताउन र आफै उम्म्द्वार बनेर जित्न सक्ने अवस्थामा रहेको भन्दै पार्टीलाई भूगोलसँग जोडिएका र जनताबीच लोकप्रिय रहेका नेतालाई उम्मेद्वारको अवसर दिन पनि सुझाव राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्