जनता टाइम्स

८ चैत्र २०७८, मंगलवार ०७:४७

देउवालाई राहत, प्रचण्ड-माधवलाई ठूलै तनाव दिने ओलीको त्यो अडान


काठमाडौं, चैत ८ । वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले आफ्नो चुनावी तयारीसँगै गतिविधीलाई ह्वात्तै बढाएका हुन् ।

उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ । हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।

गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् । कांग्रेस उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेसका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने प्रष्ट अडान अघि सार्नुभएको छ । गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क उहाँहरुको छ ।

तर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा हुनुहुन्न । उहाँले चुनावसम्मै गठबन्धन जाने भनिरहनु भएको छ ।

देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहनु भएको छ । वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत दिनुभएको छ ।

सोमवार बसेको पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो । बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राख्नुभएको थियो । अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने र प्रचण्ड र माधवको पार्टीसँग मिल्न नसकिने बताउनु भएको हो । ओलीको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।

अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ । एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताउनु भएको छ । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताउनु भएको छ ।

ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताउनु भयो । उहाँले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने जानकारी दिनुभएको छ । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।

देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिनुभएको हो गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताउनु भएको थियो । नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।

कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गर्नुभएको छ । तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।

उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ । कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुनेर नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ ।