जनता टाइम्स

२३ असार २०७६, सोमबार १४:४४

विद्युत् कम्पनीको लापरवाहीले पुरियो खोला


दैलेख, असार २३

दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ ।

सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुङ्गा खोलामा फालेपछि करीव एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ ।

निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाउनुभएको छ । स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ ।

दोल्ती पावर कम्पनीले रु ७२ करोडको लागतमा अहिले पदमखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमूले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात् तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुई वटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ ।