जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार १७:२६

चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : एमाले उपाध्यक्ष पौडेल


रुपन्देही, चैत १४ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको तथ्य राख्नुभएको छ ।

एमाले सिद्धार्थनगर नगर कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको खुलासा पनि गर्नुभयो ।

‘नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनी खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ,’ पौडेलले भन्नुभयो ।

उहाँले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार आत्तिएको र चुनाव टार्ने षडयन्त्र जारी राखेको पनि बताउनु भयो ।