जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार १८:४२

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं, तालमेल गर्न जरुरी छैन : बलायर


डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो ।

‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ आज डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भन्नुभयो, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताउनुभयो । ‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाउनुभयो । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उहाँले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताउनुभयो ।

‘केन्द्रदेखि प्रदेश सम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उहाँले थप्नुभयो, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?’ उहाँले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गर्नुभएको छ ।

सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसक्नुभएको छ । बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको आरोप लगाउनुभयो । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उहाँले भन्नुभयो, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’