जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १०:२१

विप्लवका पोलिटब्युरो सदस्य चापागाईँले गरे पार्टी परित्याग, निकट नेताको दिए एमाले प्रवेश गर्न सुझाव


काठमाडौं, चैत १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गर्नुभएको छ । पार्टीका व्यूरो सदस्य रहेका नेता चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गरेका हुन् ।

क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको चापागाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उहाँले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको पनि बताउनु भएको छ ।

पार्टीको मुख पत्र रातो खबरको जिम्मेवारी सम्हाल्दै मनाङको सेक्रेटरीसमेत भइसक्नु भएका चापागाईँले यसअघिको चुनाव बहिस्कारको क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै रहेको अवस्थामा पार्टीले घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेलमा लागेको बताउनुभएको छ ।

‘संसदीय चुनाव धोको हो भन्दै यसअघि बहिस्कार गर्ने क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेल नेतृत्वबाट नै हुनु आफैमा ठूलो विडम्बना हो । जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । यसबाट म लगायत सम्पूर्ण क्रान्तिकारी योद्धा, मुक्ति कामी जनसमुदाय र क्रान्तिकारी आन्दोलनप्रति ठूलो कुठाराघात भएको छ । पार्टीको केन्द्रीय समितिले लिएको दोधारे राजनीतिक लाइनप्रति असहमति राख्दै आजका मितिबाट म नेपाल कम्युनिस्ट पार्टीमा नरहेको यसै विज्ञप्तिमार्फत जानकारी समेत गराउँदछु।’ चापागाईंले बिज्ञप्तीमा भन्नुभएको छ ।

बिप्लव नेतृत्वको नेकपा त्याग्नुभएका चापागाईं एमाले प्रवेश गर्नुहुने चर्चा सुरु भएको छ । यद्यपी आधिकारिक रुपमा भने केही बताउनु भएको छैन ।