जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १३:३८

गठबन्धन गरेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न संभव छैन : अध्यक्ष ओली


काठमाडौं, चैत १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने ठोकुवा गर्नुभएको छ । नेपाली जनताले सवैको अनुहार देखिसकेको भन्दै अध्यक्ष ओलीले अव एमालेसँग पाँच दलीय गठबन्धनलेपनि प्रतिस्पर्धा गर्न संभव नरहेको तथ्यले प्रमाणित गरिसकेको बताउनु भयो ।

‘अव जनता जागिसके, एमाले नै यो देशको बिकास गर्ने पार्टी हो, राष्ट्रियता जोगाउने पार्टी हो भन्ने प्रमाणित भइसक्यो, त्यसैले एक्लाएक्लै एमालेसँग लडछु भन्ने कुरा सोच्दै नसोचे हुन्छ, नचिताए हुन्छ,’ भक्तपुरको सूर्यबिनायकमा ब्यवसायी तथा एमाले केन्द्रीय सदस्इ दुर्गां प्रसाईले सुरु गर्नुभएको नेपालकै सवैभन्दा ठूलो कृषि परियोजनाको उदघाटन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले गठबन्धनबिना एमलोसँग प्रतिस्पर्धा नै गर्न नसकिने सत्तारुढ दल कांग्रेससहित सवैको बुझाइ सही रहेको तर एउटा कुरा भने बुझन बाँकी रहेको बताउनु भयो । ‘गठबन्धन नगरी एमालेसँग लडन सकिन्न भन्ने बुझाइ ठीक छ, गठबन्धन गर्नैपर्छ उनीहरुले, गठबन्धन नगरी संभव छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन गरे पनि एमालेसँग लडन सक्दैनन । यो कुरा चाँहि हामीले बुझाउन बाँकी छ । गठबन्धन गरेर पनि एमालेसँग लडन सकिदैन भन्ने कुरा हामीले ब्यवहारमा साकार पार्नु छ ।’

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन लोभीपापीको रहेकोले सहजै परास्त गर्ने उदघोष गर्नुभयो । ‘लोभिपापीको गठबन्धन गर्न पनि गाह्रो छ । दुई दिन उम्मेद्वारी मनोननय कहिल्यै भएको थिएन, यस पटक भयो । एकैदिन गर्दा उम्मेद्वारी दर्ता नै गर्न सकिदैन भनेर निर्वाचन आयोगलाई दुरुपयोग गरेर दुई दिन राखेका छन,’ अध्यक्ष ओलीले भन्नुभयो ।