जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १७:३२

ठेकेदारले स्थानीय तहको निर्वाचन लड्न नपाउने, उम्मेदवार बन्न यस्ता छन योग्यता (सूचीसहित)


काठमाडौं, चैत १६ । स्थानीय तहको निर्वाचनमा स्थानीय तहकै ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन । निर्वाचन आयोगको आज बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो ।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायतका रहेका छन ।

यसैगरी आयोगले प्रतिनिधिसभा र प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेकाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन नपाउने ब्यवस्था गरेको छ । आयोगको बैठकले बनाएको १८ बुँदे मापदण्डमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा रहेकाले स्थानीय तहमा उम्मेदवारी दिन नपाउने उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।