जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १८:३५

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयो, आएपछि सोध्नुपर्ला : अध्यक्ष ओली


काठमाडौं, १८ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उहाँले नेपाल फर्किएपछि सोध्ने बताउनुभयो । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो,‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ उहाँले भन्नुभयो । एमालेको हरुवा बानी नभएको उहाँको भनाइ छ ।

‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ उहाँले थप्नुभयो । सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,’ उहाँले भन्नुभयो । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्याउने छुट अब कसैलाई नरहेको उहाँले सुनाउनुभयो ।