जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १९:१६

कर्णालीमा ओली पुग्दा देखिएका दुर्लभ दृष्यहरु, जसलाई काठमाडौंले ‘इग्नोर’ गर्यो (फोटोफिचर)


सुर्खेत, चैत १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली कर्णालीका तीन जिल्लाको भ्रमणमा आउँदा एमालेको पक्षमा मानवसागर उर्लिएको छ । जुम्ला र कालिकोटमा बृहत जनसभासँगै दैलेखको दुल्लूमा आयोजित कार्यकर्ता भेटघाटमा सरिक हुनुभएका एमाले अध्यक्ष ओलीको भ्रमणको क्रममा मानवसागर उर्लिनुका साथ दशौं हजार नेता–कार्यकर्ता अन्य पार्टी त्यागेर एमालेमा प्रवेश गरेका छन ।

ओलीको हातबाट टिका लगाएर जुम्ला र कालिकोटका अन्य पार्टीका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका हुन ।
कालिकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिवसहित करिव ४ सय ५० जना माओवादीका नेता–कार्यकर्ता नेकपा एमालेमा स्वागत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको बताउँदै कर्णालीका दुर्गम बस्तीका आर्थिक अभाव भएका नागरिकहरुले अहिले जस्तापाता लगाएको र बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताउनु भयो । ‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलमलिएका विकासे काम एमालेको सरकार आएपछि अघि बढाउँछ जनताका दैनिक समस्या समाधान गर्न पहल गर्छ,’ ओलीले भन्नुभयो ।

उहाँले अहिले पनि केही व्यत्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । ‘एमालेको चाहना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्र प्रेमीहरू एमालेमा आउनु पर्छ,’ उहाँको आग्रह थियो ।

यस्तै ओलीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि आफ्नो सरकारले पुष्टि गरेको बताउँदै आफ्नो सरकारले अन्वेषणको काम सकेको छ तर बर्तमान सरकार मुखदर्शक बनेको बताउनु भयो । यो योजना पुरा गर्न पनि एमालेको सरकार आउनै पर्ने उहाँको भनाई छ । अध्यक्ष ओलीले एमालेप्रतिको जनसागर देखेर बाँकी दलहरुवीच गठबन्धन बनेको हो, यो गठबन्धन पनि संघीय र प्रदेशको चुनावसम्म नजाने बताउनु भयो ।

अध्यक्ष ओलीले अहिलेको सरकार जनतालाई ढाँट्ने र छक्याउने खेलमा लागेको तथ्य खोल्दै स्वार्थका लागि कांग्रेसको पछाडि लागेकाहरु चाँडै ढल्ने ठोकुवा गरे। कांग्रेसका पछाडि लागेकाहरुको पार्टीको ठेगान पनि नभएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिएर समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन आम जनतासँग अपिल पनि गर्नुभयो ।

पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य महेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य रत्न बिकलगायतलाई ओलीले पार्टी प्रवेश गराउनु भएको हो । कालिकोटको इतिहासमै धेरै मानिसको उपस्थितिमा माओवादीका नेताहरुलाई भित्र्याएर ओलीको भ्रमणले कालिकोटलाई एमाले किल्ला बनाएको छ । यस्तै, सिंजामा पुगेर अध्यक्ष ओलीले नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश (ख) का उपसभापति दानसिंह खत्रीलगायतका नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभयो ।

जनसभामा बोल्दै ओलीले समृद्धि र विकास एमाले वाहेकका दलले गर्न नसक्ने बताउनु भयो । अहिलेसम्म अरु कुनैपनि दलले समृद्धि र विकासको काम गर्न सकेनन, नेपालमा एमाले बाहेकको अरुले समृद्धिको कल्पना समेत गर्न नसक्ने तथ्यलाई राख्नुभयो । आफ्नो तीन वर्षे कार्यकालमा देशले विकासको गति लिएको बताउँदै अध्यक्ष ओललीले अहिलेको सरकार विकास विरोधी भएको तथ्य पनि राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेका थियौं, अस्पताल बनाउने घोषणा गरेका थियौं, वर्तमान सरकारको ढंङ्ग नभएर, क्षमता नभएर, काम गर्ने सामथ्र्य नभएर आयोजनाहरू काटेको छ, आगामी चुनावपछि एमालेको सरकार बन्द र अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ । ’

यस्तै जुम्लाको सिंजामा पनि ओलीको भब्य स्वागत भयो । सो स्थानमा इतिहासमै पहिलो पटक यति धेरै मानिस आमसभामा सहभागी भएका थिए । एमाले अध्यक्ष ओली हेर्न र नजिकबाट सुन्न बृद्धबृद्धादेखि बालबालिकासमेत कार्यक्रममा आएका थिए । सवैको अनुहारमा ओलीप्रतिको क्रेज झल्किएको देखिन्थ्यो ।

सिंजामा बोल्ने क्रममा ओलीले क्रममा कर्णालीको विकासका लागि त्रिदेशिय सडक, मध्यपहाडी राजमार्गको प्रभावकारी कार्यान्वयन, रास्कोटको बृहत खानेपानी आयोजना, खाँडाचक्र चुलीको बृहत खानेपानी आयोजना र कर्णाली राजमार्ग दुई लाइन बनाउन आफ्नो सरकारका पालामा वजेट सहितको योजना परेको तथ्य राख्नुभयो ।