जनता टाइम्स

१९ चैत्र २०७८, शनिबार १८:५९

एमालेसँग आत्तिएका बिरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली


खोटाङ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभएको छ । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम बिरोधीले एमालेलाई सरकारबाट हटाएको बताउनुभएको हो ।

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔंदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफु सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका बिरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्याएको अध्यक्ष ओलीको भनाइ थियो ।

‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुन:निर्माणको लहर सुरु गर्‍यो । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होईन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमबिश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर बिरोधीहरु आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरु आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’

उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दावी गर्नुभयो । उहाँले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको बताउनुभयो । ‘२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताकोतस्तै रह्यो,’ ओलीले भन्नुभयो, ‘एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होईन अझ सुढृड भएर अगाडि बढेको छ, बढ्ने छ । देशभरी अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन् ।’

ओलीले देशलाई संमृद्ध र जनतालाई सुखी बनाउनका लागि आगामी ३० बैसाखको स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाई बढी स्थानमा जिताउनका लागि आग्रह गर्नुभएको छ । दिक्तेलको जनसभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गर्नुभएको थियो । दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिसुल हुन्छ’ भन्दै मजाक उँडाउने नेताको परिणाम राम्रो नआउने बताउनुभएको थियो । जनसभामा हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।