जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार ०८:२८

भोट डकैतीको पैँचो तिर्न पनि गठबन्धन जरूरी


जेसुकै होस्, महाशयहरूको यो गठबन्धन टुट्नै हुँदैन ! किनकि अर्को पल्ट यी पेशेबर ब्रोकरहरू सत्ताका पदको मोलमोलाइ गर्दै बालकोटको बार्दलीमा पुगेर रूखबाट लाछेका केही सिटको पोको फुकाउने छन् र बिस्कुन सुकाउने छन् अनि भन्ने छन् ! हेर्नुस् त हामीसँग यति सिट छ ! त्यो दिन ल्याउनका लागि पनि यो गठबन्धन जरूरी छ । तर शेखर बाबुका भाषण र पुरन्जन आचार्य र ध्रुवहरि अधिकारीका लेख धेरै काङ्ग्रेसीहरूले सुने वा पढे भने यो दिन नआउला कि भन्ने पिरलो पो छ त गांठे !

डा. ऋषिराम शर्मा

आज मुलुकमा चुनावी गठबन्धनको चर्को चर्चा चलिरहेछ । मलाई त यो गठबन्धन नहुने हो कि भन्ने ठूलै र चर्कै ‘पिर’ ( प्रकाश सपूतवाला हैन है अर्कै) परिरहेछ । यो गठबन्धन भएन भने गठबन्धनको भेन्टिलेटरका आशमा सास धानिरहेका गोत्रहन्ता परजीविहरूको बीभत्स राजनैतिक अवसान हुने छ ।

साथै २०७४ सालको निर्वाचनमा सूर्यका मतबाट प्राप्त सिटलाई डकैती गरेर चोरेर सुकेको रूखका हाँगामा झुन्डिर शरण माग्न गएका जुन झुन्डहरूछन् अर्थात् एउटा दलका वोट पटकपटक चोरी डकैती गरी अर्को दलमा खन्याई जीविकोपार्जन गर्नेती जुन जुन आखेटकहरू छन् तिनको चटके र पटके खेल पनि समाप्त हुनेछ; अथवा भनौँ लोकतन्त्रको नग्न चलचित्र ( ब्लू फिल्म ) का बीभत्स चरित्रहरू लोकतन्त्रलाई बदनाम गर्दै लोकतन्त्रकै नाममा क्रीडारत देखिने छैनन् । तिनीहरू त्यस्ता नग्नचलचित्रको पर्दाबाट सदा सर्वदाका लागि बिलीन हुनेछन् ।

किनकि उनीहरूले रूखका हाँगा लाछेर चुनावमा एक दुई सिटका ठेट्ना जितेछन् नै भने ती वोट डकैती गरेरबुझाउन आलोपालो पद्धति अनुरूप यसपल्टएमालेको दैलो ढुक्नेछन् ।

यसपल्ट एमालेले रूखबाट पिटिक्क भाँचेर ल्याएका ती एकदुई सिटका छेस्का भाँचभुँच पारेर अँगेनामा जोरेर तिनलाई लोप्पा खुवाउँछ कि गनाउने ती सिटका छेस्का ल्याएर आफ्नो बैठक कोठा गनाउने पार्छ, त्यो त हेर्न बाँकी नै छ । किनकि कामरेड प्रचन्डको कुर्सी सुरक्षित जसले गरिदिन्छ त्यो उहाँको दृष्टिमा महान् मार्क्सवादी वा प्रगतिशिल हो भने त्यसबाहेक अन्यथा हुँदा त्यो घोर क्रान्तिविरोधी र प्रतिगमनकारी हो !यसै कुराको पुष्टि हुने गरी “प्रचण्डको लिलामी पसल” नामक लेखमा अनलाइन खबरमा ध्रुवहरि अधिकारी लेख्छन्;
आफूले साढे दुई वर्ष प्रधानमन्त्री पाउने (आलोपालो) आश्वासन पाएपछि प्रचण्डले जीवनभरि आफ्नो विरोधी रहेका केपी ओलीलाई आफ्नो नेता मान्न र उनलाई पूरै माओवादी आन्दोलन सुम्पन तयार भए । अझ भनौँ लिलामीमा बेच्न तयार भए ।
‍……………………………………………………………………………………
एकछिन पहिलेसम्म अर्थात् आफूले आधा अवधि प्रधानमन्त्री पाउने आश रहिन्जेल स्थिरताका पर्याय रहेका केपी ओली अब एकाएक ‘प्रतिगमनका नाइके’ बन्न पुगे ।

लोकले एउटा दल र कोर्सलाई मानेर दिएका लोकतान्त्रिक मत अवैध ओसारपसार गरी जीविकोपार्जन गर्ने लोपोन्मुख चमेरा प्रजातिहरूले अहिले गठबन्धनको हात्तीको कानमा दिनु सास्ती दिइरहेछन् रे ! यी चमेराहरूको अबको अर्को कार्यकाल भनेको रूखका वोटबाट जिती तिनलाई फेरि डकैती चोरी गर्ने र अर्कोलाई बुझाउने अलोकतान्त्रिक पालो हो ।

यो लोकतन्त्रको नाम लिएर खेलिने यो अलोकतान्त्रिक र घृणित खेल बचाइ राख्नका लागि, यस्तो कुरूप र बीभत्स राजनीतिमा भन्किँने झिँगा जोगाउनका लागि र २०७४ सालको सघीय चुनावमा दिएझैँ पुनः देउवालाई दनक दिनका लागि पनि यो गठबन्धन निकै जरूरी छ र यो गठबन्धन हुनै पर्छ ।

किनकि प्रतिगमन विरोधी नामक नक्कली माला जपेर आफै नै प्रतिगमनका मतियार बन्दै लोकतान्त्रिक मान्यता र मर्यादाका सक्कली मठ-मन्दिर भत्काउनेहरूको अहिलेको पालो भनेको गठबन्धन गरी रूखबाट वोट मागेर चोरेर जित्ने र तिनलाई पोको पारेर बालकोट वा बुढाकोट पुग्ने अनि फुटपाथे बार्गेनिङ्को शैलीमा ती वोटको लिलामी पसल थापी कालाबजारी गर्नु नै हो ।

विचित्रको कुरो के छ भने आज सयौँ मुसा खाएका बिरालाले रामनामी ओढेर अहिंसाको प्रवचन दिएझैँ नेपालमा अहिले लोकतन्त्र मास्ने अभियानका हिमायती पुष्पराम बाबाहरूले नै ‘आशाराम बाबा स्टाइल’को राजनैतिक नैतिकता र लोकतन्त्रको प्रवचन दिइरहेछन् र आफूलाई लोकतन्त्रवादी भन्ने काङ्ग्रेस यता त्यही प्रवचन-धतुरो सेवन गरी लट्ठ परिरहेछ ! यसले काङ्ग्रेस र माओवादीको हालको यो गठबन्धनरूपी लिभिङ टुगेदरले चुनावपछि पल शाहको बलात्कार स्ट्रन्टलाई पनि माथ नगरी धरै छैन कि जस्तो पो लाग्न थाल्यो बा !

किनकि आज जुन लोकतन्त्रको लाखेजात्रा भैरहेछ त्यसले दक्ष प्रजापतिका टाउकामा बोकाको टाउकाको ट्रन्सप्लान्ट गरेको उत्तरआधुनिक विचित्र रूप पो देखिँदो छ त । जस्तो विद्रूप रूप देखिए पनि यो गठबन्धन निर्वाध रूपमा अघि बढ्नुपर्छ भन्ने आम र मेरो पनि धारणा छ । किनकि सूर्यका वोट डकैतीको पैँचो तिर्न र ध्रुवहरी अधिकारीले भन्नु भएझैँ कामरेड ‘प्रचन्डको लिलामी पसल’ टाट पल्टिन नदिन पनि यो गठबन्धन बाच्नै पर्छ ।

अनि आगामीदिनमा यसरीकहिले घुर्की त कहिले लल्हबिल्लह गर्दै बिलौना गरी आर्जन गर्न आँटेका वोटबाट प्राप्त सिटलाई वामएकताको मिथ्या तर विषालु नारा दिँदै सूर्यनारायणलाई भेटी चढाउन पनि यो गठबन्धन जरुरी छ । भलै एमालेले यस्ता धुन्धुकारीसँग मोलमोलाइ नगरेकै हुन्थ्यो । त्यहाँको कुरो पनि खै के पो बुझिसक्नु छ र ?

यद्यपि आउँदो चुनावमा माथिका ठग नेताले गठबन्धन गरे पनि जनताले यिनलाई ठगबन्धन ठानेर यिनका बाकस रित्ता पारि
दिएछन् भने त के पो गर्न सकिन्छ र ? त्यस कुराको जमिनी सुइँको पाएर हो वा जमिनका जनतालाई त्यस कुराको सुइँको दिनलाई हो ? नेपाली काङ्ग्रेसका नेता पुरन्जन आचार्य १४ चैतको अनलाईन खबरमा लेख्छन्;
… स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा त हुनसक्ला तर दीर्घकालीन रूपमा यसले नेपालमा कम्युनिस्ट विस्तारलाई मलजल गर्छ ।

हुनत, त्यसो त कहिल्यै पनि लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त नगरेको तथा जहिले लोकतान्त्रिक संस्थाहरू क्षतविक्षत पारेर बीभत्सरूप देखाएको दल माओवादी र लोकतन्त्रका लागि सधै प्रतिबद्धता जाहेर गरेको भनिएको र लोकतन्त्रको अन्तर्राष्ट्रिय गुणस्तरप्राप्त काङ्ग्रेसका बिचको गठबन्धनको जो चर्चा अहिले चलिरहेछ यसले स्याल र बाख्राको गठबन्धनको पनि झल्को दिइरहे पनि यी मध्ये को बाख्रो हो र को स्याल हो त्यो समयले नै बताउने नै छ ।

जेसुकै होस्, महाशयहरूको यो गठबन्धन टुट्नै हुँदैन ! किनकि अर्को पल्ट यी पेशेबर ब्रोकरहरू सत्ताका पदको मोलमोलाइ गर्दै बालकोटको बार्दलीमा पुगेर रूखबाट लाछेका केही सिटको पोको फुकाउने छन् र बिस्कुन सुकाउने छन् अनि भन्ने छन् ! हेर्नुस् त हामीसँग यति सिट छ ! त्यो दिन ल्याउनका लागि पनि यो गठबन्धन जरूरी छ । तर शेखर बाबुका भाषण र पुरन्जन आचार्य र ध्रुवहरि अधिकारीका लेख धेरै काङ्ग्रेसीहरूले सुने वा पढे भने यो दिन नआउला कि भन्ने पिरलो पो छ त गांठे !